सांसदको रेष्टुरेण्टमा महराको पद उडाउने पत्रकारलाई ठेगान लगाउने कुरा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् निर्वतमान सभामुख कृष्णबहादुर महराको सेक्स स्क्याण्डल बारिल्याए पद उडाइदिएका हाम्राकुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको छ ।

संसद सचिवालयकी कर्मचारी एवम् स्टाप नर्सलाई काठमाडौंको तीनकुनेमा यौन दुर्व्यवहार गरेको समाचार पत्रकार सिवाकोटीले आफ्नो अनलाइनमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि सिवाकोटीलाई महरा निकटका नेकपाका नेता तथा कार्यकर्ताले ज्यानमार्ने धम्की दिन थालेका हुन् ।

त्यति मात्रै होइन महराका छोरा राहुल महराले बन्दुक भिरेको तस्वीर फेसबुकमा पोस्ट गरेर हाम्राकुरा डटकमको टिमलाई अप्रत्यक्ष रुपमा धम्की दिएको सम्पादक सिवाकोटीले बताएका छन् ।

सम्पादक सिवाकोटीलाई नम्बर नखुलेका फोनहरू आउने क्रम शुरू भएको जनाइएको छ ।

समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक सिवाकोटीलाई पछ्याउने, निगरानी गर्ने गिरोह अस्वाभाविक गतिविधिमा संलग्न रहेको हाम्राकुरा डटकमले जनाएको छ ।

बानेश्वरका दुइवा रेष्टुरेण्टमा मंगलबार र बुधबार केही समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक सिवाकोटीमाथि क्षति पु¥याउने नियतका साथ योजना बनाएको सिवाकोटीले जनाएका छन् ।

ती दुई रेष्टुरेण्टमध्ये एउटा रेष्टुरेण्ट सत्तारुढ नेकपाकी सांसद नवीना लामाको हो । सोही रेष्टुरेण्टमा पत्रकार सिवाकोटीलाई ठेगान लगाउने योजना बनाएको उच्च स्रोतलाई हवाला दिएर हाम्राकुरा टिमले जनाएको छ ।

समाचार सार्वजनिक हुनुअघि नै महराले समाचार प्रकाशित नगर्न दवाव दिएका थिए । उनले विभिन्न व्यक्तिहरूलाई समेत लगाएर समाचार रोक्ने आशयले कुरा गराएका थिए ।

समाचार सार्वजनिक भएकै दिन मोटरसाइकलमा पछ्याइएका कारण सम्पादक सिवाकोटी घर जान नसकी अन्यत्रै सुरक्षित स्थानमा बसेका थिए ।

यसैबीच नेपाल प्रेस युनियनले हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहीबार बसेको आकस्मिक बैठकले युनियनका महासचिव सिवाकोटीलाई नम्बर नखुलेका फोनहरू आउने क्रम शुरू भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ ।

‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छाैं’, विज्ञप्तिमा उल्लेख छ ।

‘कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकित बनाउन खोज्नु दुभाग्र्यपूर्ण छ’, प्रेस युनियनले भनेको छ, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यसतर्फ सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै प्रेसमाथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।’

Published : Thursday, 2019 October 3, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया