जागरण अभियान ‘नौटंकी’ भन्ने शाहीसँग कांग्रेसले माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको हिमाल, पहाड, तपाई–मधेस जागरण अभियान ‘नौटंकी’ भनेर टिप्पणी गरेर चर्चामा आएका नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

पछिल्ला समय विवादास्पद हर्कत गर्दै आएका शाहीले तीन ठूला निर्णय गरेर अध्यक्ष जितजंग बस्नेतलाई चुनौती दिएपछि तरुण दलभित्र विवाद सिर्जना भएको थियो ।

शाहीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सप्तरी तरुण दलको अध्यक्ष नियुक्ति, सिन्धुपाल्चोक जिल्लाका तरुण नेताको कारबाही फुकुवा र अध्यक्ष बस्नेतलाई कारबाही गरेर तरुण दलबाट निस्काशन जस्ता विधान विपरितका हास्यास्पद निर्णय गरेपछि शाहीको आलोचना भएको थियो ।

त्यसपछि तरुण दलका अध्यक्ष बस्नेतले शाहीलाई महासचिव पदसहित कुनै पनि जिम्मेवारीमा नरहने गरी हटाएका थिए ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका तत्कालीन महासचिव शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टीकरण मागेको छ ।

स्पष्टीकरणसँगै शाहीको राजनीतिक जीवन धरापमा परेको छ । चित्तबुझ्दो जवाफ न आए शाही नेपाली कांग्रेसको साधारण सदस्यबाट पनि निष्कासनमा पर्ने छन् ।

शाहीले महासचिव पदमा रहेका बेला तरुण दल र पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङ्गले अनुशासन समितिमा उजुरी दिएका थिए ।

अनुशासन समितिले शाहीविरुद्धको उजुरीमा कारबाही प्रक्रिया अगाडि बढाउँदै लिखित स्पष्टीकरण माग गरेको स्रोतले जनाएको छ ।

शाहीले पार्टीको नीति विपरीत अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरूको मानमर्दन गरेको आरोप छ ।

शाहीले तरुण दलका अध्यक्ष बस्नेतलाई पदबाट हटाएको भन्दै सूचना जारी गरेको पनि उल्लेख छ ।

अध्यक्ष, उपाध्यक्ष तथा कोषध्यक्षसहितले गएको भदौ २७ गते बसेको बैठकको निर्णयसहित अनुशासन समितिमा महासचिव शाहीविरुद्ध उजुरी दिएका थिए ।

अनुशासन समितिले शाहीलाई सात दिनको समय दिएर शुक्रबार लिखित स्पष्टीकरण माग गरी कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

शाही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कोटामा तरुण दलको महासचिव भएका थिए । कारबाहीमा परेका शाहीले आफ्नो अस्तित्व बचाउन समानान्तर गतिविधि गर्दै आएको आरोप छ ।

Published : Wednesday, 2019 October 2, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया