नेकपा नेतृ चौधरीको व्यक्तिगत कार्यक्रम बालुवाटारभित्र, सत्ताको दुरुपयोग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरीले सत्ता र शक्तिको दुरुपयोग गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै आफ्नो व्यक्तिगत लगानी रहेको दुई वटा गीतको लोकार्पण गरेकी छिन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीमार्फत चौधरीले आफ्ना गीतहरूको मंगलबार लोकार्पण गराएकी हुन् । गीतका शब्द सचेतक चौधरीले लेखेकी छिन् । चौधरीले लेखेका गीतको म्युजिक भिडियोमा आफैले अभियनय समेत गरेकी छिन् ।

चौधरीको म्युजिक भिडियो लोकार्पण कार्यक्रममा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, भूमिसुधारमन्त्री पद्मा अर्याल, प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमा चौधरीले राखेको स्टाटसमा गायक, गायिका र संगीतकारहरूको नाम पनि राखेकी छिन् । उनले प्रधानमन्त्री ओलीसहित कार्यक्रमको तस्वीरहरू पनि फेसबुकमा राखेकी छिन् ।

नेकपाकी सचेतक चौधरीले प्रधानमन्त्री ओलीकी पत्नीलाई ‘आदरणीय कमरेड राधिका शाक्य’ भनेर सम्बोधन गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारभित्र भएको म्युजिक भिडियो लोकार्पण कार्यक्रमको खर्च सरकारी हो वा व्यक्तिगत हो भन्नेबारेमा चौधरीले आफ्नो फेसबुक स्टाटसमा चौधरीले केही लेखेकी छैनन् । आफैले अभियन गरेका ती दुई गीतमा स्वर अञ्जु पन्तको छ । संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।

सोही कार्यक्रममा भगवती न्यौपानेले लेखेका दुई वटा गीतको पनि लोकार्पण गरिएको थियो । प्रधानमन्त्री ओलीको गुणगान भएका ती दुई गीतमा गायकद्वय शिशिर योगी र बद्री पंगेनीले स्वर दिएका छन् । नेकपा तनहुँकी नेतृ समेत रहेकी न्यौपानेका दुबै गीतमा संगीत सन्तोष श्रेष्ठले नै दिएका छन् ।

नेकपाकी सचेतक चौधरी र नेतृ न्यौपानेले आफ्ना व्यक्तिगत लगानी रहेका गीतहरूको विमोचन पार्टी प्यालेस वा होटेलहरूमा नगरेर शक्तिको आडमा बालुवाटारभित्र राज्यकोषको दुरुपयोग गरेर कार्यक्रम गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Published : Wednesday, 2019 October 2, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया