देउवाले गरिदिए कम्युनिस्ट सरकारको अर्को भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस निकटको नेपाल राष्ट्रिय मगर संघ प्रदेश ३ कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने बताए ।

सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न माग गरेका छन् । उनले कम्युनिस्ट सरकारबाट भएका संविधान विपरितका हर्कतको जनता समक्ष भण्डाफोर गर्नुपर्ने बताए ।

नेपालका आदिवासी जनजातिमध्ये मगर समुदायको जनसंख्या सबैभन्दा बढी भएकाले सोही अनुसार नेपाली कांग्रेसले प्राथमिकतामा राखेको देउवाले बताए ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधीलाई कारवाही नगरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

उनले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाएका छन् ।

महामन्त्री डा.शशांका कोइरालाले ठूलो संघर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

उनले संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको बताए । डा.कोइरालाले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरे । उनले आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर संघका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढीकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

Published : Monday, 2019 September 30, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया