कम्युनिस्ट सरकारले दशैँमा महँगी उपहार दियोः उदयशम्शेर राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतलाई दशैँको मुखमा महँगाईको उपहार दिएर चाढपर्वका बेला आतंक मच्चाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेखेर पूर्वसांसद समेत रहेका राणाले कम्युनिस्ट सरकारले महँगी नियन्त्रण गर्न नसकेको बताए । खराब अर्थ नीतिका कारण महँगी बढेको बताएका उनले ढुवानीमा कर बढाउँदा देशमा महँगी बढेको बताएका हुन् ।

‘चाडपर्व नजिकिएसँगै बजारभाउ आकाशिएको छ । तर, सरकार उदासीन छ’, नेपाली कांग्रेसका युवा नेता राणाले भनेका छन्, ‘व्यापारीको मनपरी र सरकारको अकर्मण्यताले महंगी अझै बढ्ने स्पष्ट छ ।’

‘तरकारीको भाउ महिनादिनकै बीचमा तीन सयप्रतिशतसम्म बढेको समाचारहरू आएका छन्’, उनले भनेका छन्, ‘बिचौलियाको कब्जामा बजार छ ।’

‘सरकारले बजेटमार्फत् ढुवानीमा कर लगाउने निर्णय गरेपछि व्यापारीलाई मूल्य बढाउन झनै सहज बनायो’, उनले भनेका छन्, ‘सरकारको प्रमुख दायित्व भनेकै नागरिकलाई सहज सुविधा र सर्वशुलभ सेवा प्रवाह गर्नु हो । तर, सरकार सुशासन र समृद्धिका गफ दिएर थाकेको छैन ।’

उनले प्रश्न गर्दै भनेका छन्, ‘प्रश्न उठ्छ, के सरकार यसरी नै नागरिकप्रति अनुत्तरदायी रहिरहनसक्छ ?’

Published : Sunday, 2019 September 29, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया