ओलीको कम्युनिस्ट सरकारले जनतालाई कर र महँगी दियोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण महँगी अचाक्ली बढेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले महँगीका कारण आमजनताले दसैं, तिहार र छठजस्ता महत्त्वपूर्ण पर्व नै मनाउन नसक्ने स्थिति उत्पन्न भएको बताए ।

उनले सरकार महँगी नियन्त्रण गर्न असफल भएको बताए । ‘जनताले दसैंका सामान किनमेल गर्नसमेत नसक्ने गरी महँगी बढेको छ’, उनले भने, ‘जनताले दसैं, तिहार र छठ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

सभापति देउवाले सरकारमाथि जनतालाई कर थुपार्ने र महँगी बढाउने काममात्रै गरेको आरोप लगाएका छन् ।

उनले सरकारबाट जनता, उद्योगी, व्यवसायी सबै आजित भइसकेको दाबी गरेका छन् ।

‘ओली सरकार नेपालमा सबभन्दा असफल सावित भएको छ’, उनले भने, ‘धेरै कर बढाएर सारा जनता, उद्योगी, व्यापारी आजित छन् ।’

नेपाली कांग्रेसका सभापति देउवाले सरकार जनहितका काम गर्नुभन्दा एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न लोकतन्त्रविरोधी कानून बनाउने प्रयासमा लागिरहेको आरोप लगाएका छन् ।

उनले सरकारका लोकतन्त्रविरोधी कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिएका छन् ।

Published : Saturday, 2019 September 28, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया