ज्ञानेन्द्र शाही कुट्ने कायर अरिँगालहरूसँग गगनले मागे हिसाब किताब

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएकोमा विरोध गरेका छन् ।

युवा नेता थापाले सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेखेर ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई कायरताको संज्ञा दिएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैलाई अभिव्यक्ति र घुमफिरको स्वतन्त्रता रहेको भन्दै शाहीमाथि चितवनमा भएको आक्रमणको विरोध गरे ।

‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरूका बारेमा के टिप्पणी गर्नु ?’, प्रश्न गर्दै नेपाली कांग्रेसका युवा नेता थापाले भनेका छन्, ‘यो कायरताका लागि उक्साउनेहरू दोषी हुन् । अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचारहरूको जिल्ला–जिल्लामा पुगेर भण्डाफोर गर्दै आएका ज्ञानेन्द्र शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले भौतिक आक्रमण गर्दै आएका छन् ।

नेकपाको भ्रातृ संगठन युवा संघ नेपाल र अखिलले केही दिन अगाडि विज्ञप्ति जारी गरेर ज्ञानेन्द्र शाहीलाई जिल्लाहरूमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएका थिए ।

संविधानअनुसार आफ्ना गतिविधि गर्दै आएका ज्ञानेन्द्र शाहीलाई दुई हप्ता अगाडि ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गर्ने क्रममा नेकपा निकटको अखिलका कार्यकर्ताले भौतिक आक्रमणको प्रयास गरेका थिए ।

विभिन्न पटक ज्ञानेन्द्र शाहीमाथि भौतिक आक्रमणको प्रयास गर्दै आएका नेकपाका नेता तथा कार्यकर्ताले उनलाई शनिबार चितवनमा भौतिक आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।

Published : Saturday, 2019 September 28, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया