नागढुंगाको जाम खुलाउन नसक्ने हुतिहारा कम्युनिस्ट सरकारः सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम पनि खुलाउन नसकेको भनेर आलोचना गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा शनिबार आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए ।

उनले खड्गप्रसाद ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकार भएको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण दुई जना सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’, उनले भने, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’ नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा नदिएको बताए ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए ।

‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’, नेता सिंहले भनेका छन्, ‘हरेक ठाउँमा असफल भएको छ ।’

उनले वर्तमान सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु कुरामा केन्द्रित भएको बताए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका नेपाली कांग्रेसका नेता सिंहले भने, ‘चिनियाँ मोडलको व्यवस्था देशमा भित्र्याउने कार्य गर्नु हुँदैन ।’

नेता सिंहले मित्र राष्ट्रहरूलाई नेपालको संविधान र भावना विपरित काम नगर्न सुझाव दिएका छन् ।

‘यो सरकारलाई संविधान विपरितका कार्य गर्ने अधिकार छैन’, उनले भने, ‘प्रतिकुल अवस्थाका काम भयो भने नेपाली कांग्रेस चुप लागेर बस्ने छैन ।’

Published : Saturday, 2019 September 28, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया