कम्युनिस्टलाई हराएको टिमलाई देउवाले दिए बधाई, सबैको हितमा काम गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विजयी भएका लोकतान्त्रिक समूहका पदाधिकारी र सदस्यहरूसहितको टिमलाई बधाई दिएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको समूहबाट अध्यक्षमा विष्णु गैरेसहितको टिमले विजयी हासिल गरेकोमा सभापति देउवाले पूरै टिमलाई बधाई दिएका हुन् ।

भेटमा सभापति देउवाले गैरे नेतृत्व टिमलाई जितबाट नआत्तिन र अहँकार त्यागेर सबै व्यवसायीहरूको हकहित हुने गरेर काम गर्न निर्देशन दिएको नेपाल वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले जानकारी दिए ।

‘तपाईहरू एकतावद्ध भएर संघमा जितेर आउनु भएको छ’, देउवाको भनाइ उदृत गर्दै न्यौपानेले भने, ‘तेरो वा मेरो भनेर संघमा कुनै पनि भेदभाव नराख्नु होला । वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायीहरूको पक्षमा राम्रा कार्यक्रम र योजना बनाएर अगाडि बढ्नु होला ।’

न्यौपानेका अनुसार सभापति देउवाले संघमा नेपाली कांग्रेस निकटका व्यवसायीहरू एकजुट भएर आफ्नो टिमलाई विजयी बनाएकोमा खुसी व्यक्ति बधाई र धन्यावाद दिएका छन् ।

सभापति देउवालाई भेट्न संघको नवनिर्वाचित अध्यक्ष विष्णु गैरेसहितका पदाधिकारी र सदस्यसहित सत्र जनाको कार्यसमिति तथा फोरमका अन्य व्यवसायीहरूपनि सँगै देउवा निवास पुगेका थिए ।

नेपाली कांग्रेसका सभापति देउवालाई भेट्ने वरिष्ठ व्यवसायी किरण किशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपानेसहितका फोरममा आवद्ध व्यवसायीहरू गएका थिए ।

Published : Friday, 2019 September 27, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया