गगनले फेरि देखाए जादु (तस्वीर)

जुम्ला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दलका नेता तथा कार्यकर्ता पार्टीमा भित्र्याएका छन् ।

जुम्लाको सदरमुकाम खलंगामा बिहीबार आयोजित नेपाली कांग्रेस जिम्लाको कार्यक्रममा नेकपाका तीन सय बढी स्थानीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता थापाले पार्टीमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेस जुम्लाका अनुसार विभिन्न पार्टी प्ररित्याग गरी ३ सय ७६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गर्ने नेकपासहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सत्ताको आडमा कम्युनिस्टहरूले गाउँका जनतामाथि ज्यादती गरेको आरोप लगाए ।

जनतालाई कर थुपार्नेदेखि केन्द्रमा कम्युनिस्ट नेताहरू बिलासी जीवन विताएको भन्दै नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकाहरूले आरोप लगाएका थिए ।

जुम्ला कांग्रेसको कार्यक्रममा सहभागी हुन आएका युवा नेता थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनताले राहत पाउने बेला आहत पाएको भन्दै चर्को आलोचना गरे ।

उनले निर्वाचनमा तत्कालीन एमाले र माओवादीबाट भएका प्रतिवद्धताहरू पूरा नभएको भन्दै आक्रोश पोखे ।

युवा नेता थापाले नेकपालाई जनताको हितमा काम गर्न आग्रह गरेका छन् । उनले जनतालाई दुःख दिने कम्युनिस्ट सरकारलाई कांग्रेसले हरेक मोड र बाटोमा जनताका पक्षमा काम गर भनेर खबरदारी गर्ने बताए ।

नेपाली कांग्रेसका युवा नेता थापा जुम्लामा आउने भएपछि शुभेच्छुक र पार्टीका नेता तथा कार्यकर्ताहरूको भीड लागेको थियो । कार्यक्रमस्थल खचाखच भरिएको थियो ।

कार्यक्रममा सहभागी हुने युवा नेता थापाका साथै नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरू जुम्ला आएका थिए ।

Published : Friday, 2019 September 27, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया