कांग्रेसले दुई वर्षपछि बाेल्ड निर्णय लिदै

काठमाडौं । नेपाली कांग्रेसले लामो समयपछि विजय गच्छदार नेतत्वको तत्कालीन लोकतान्त्रिक फोरमलाई समायोजनको अन्तिम तयारी गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा गच्छदारको पार्टीलाई केन्द्रीय तहबाट समायोजन प्रक्रिया अगाडि बढाउने तयारी भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारका करीव १५ जनालाई केन्द्रीय कार्य समितिमा ल्याउँदै छन् ।

नेपाली कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकबीच दुई वर्षपछि समायोजन टुंगो लाग्न थालेको हो ।

नेपाली कांग्रेस उपसभापतिसमेत रहेका समायोजन समितिका संयोजक विमलेन्द्र निधिले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले समायोजनका बाँकी सबै कामको अन्तिम टुंगो लगाउने बताएका छन् ।

स्थानीय तह, जिल्ला समिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा समायोजनको टुंगो लाग्नेछ ।

हाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकामध्ये सबैभन्दा उच्च पदको जिम्मेवारीमा गच्छदार मात्रै छन् । उनलाई एकता भएको एक वर्षपछि सभापति देउवाले पार्टी उपसभापतिमा मनोनीत गरेका थिए ।

उनी हाल कांग्रेस संसदीय दलका उपनेतासमेत छन् । त्यसबाहेक राजधानीमा गत पुसमा सम्पन्न महासमिति बैठकमा गच्छदार निकट २ सय नेतालाई महासमिति सदस्य पदमा मनोनीत गरिएको थियो ।

उपसभापति गच्छदारले हाल क्रियाशील सदस्य २० हजार पाउनुपर्ने दाबी गर्दै आएका छन् । १ हजार महाधिवेशन प्रतिनिधिमा गच्छदारले दाबी छाडेका छैनन् ।

समायोजन टुंगो लगाउनका लागि ११ देखि १५ जनासम्म केन्द्रीय सदस्य गच्छदारलाई दिनेछ ।

जितेन्द्र देव, वीरेन्द्र नेपाली, योगेन्द्र चौधरी, रामजनम चौधरी, गणेश लामा, महेश खर्बुजा, भारतेन्दु मल्लिक, सुमित्रा चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाउने तयारी भएको हो । हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य छन् ।

Published : Friday, 2019 September 27, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया