कैलालीको जोशीपुरमा कांग्रेसमा लाइन लागेर भित्रिए ओली–दाहालका कार्यकर्ता (तस्वीर)

धनगढी । नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत कैलाली जिल्लाको जोशीपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दर्जनौ नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कैलाली क्षेत्र नम्बर १ ‘क’मा जागरण अभियान अन्तर्गत बिहीबार गणेशमान सिंहको २२औँ स्मृति दिवसका अवसरमा जोशीपुरको गाउँपालिकाको फडियामा आयोजित विशेष कार्यक्रममा केन्द्रीय प्रतिनिधि कमलकिशोर घिमिरेले ५९ जनालाई पार्टीमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय प्रतिनिधि घिमिरेले दुईतिहाइको बलियो सरकारले जनताको स–साना आकांक्षाहरू पनि पूरा गर्न नसक्दा कम्युनिस्टहरूप्रति वितृष्णा उत्पन्न भएको बताए ।

‘जनताले विश्वास गरेर एमाले र माओवादीलाई झण्डै दुईतिहाइको मत दिए’, उनले भने, ‘जनताले यो कम्युनिस्ट सरकारसँग धेरै ठूलो अपेक्षा गरेका छैनन् । गाउँका जनताको आकंक्षा भनेको शिक्षा, रोजगारी, विकास र भ्रष्टाचारमुक्त समाज खोजेका छन् । तर, यो सरकार सबै कुरामा असफल भएको छ । भ्रष्ट र तस्करहरूले यो सरकारलाई संरक्षण गरेर राखेका छन् ।’

कार्यक्रममा सहभागीहरूले कांग्रेसको केन्द्रीय नेतृत्वमा देखिएको विभाजन र गुटबन्दीप्रति चिन्ता जनाएका थिए । कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले केन्द्रमा ठूला नेताहरू पद र प्रतिष्ठानका लागि मात्रै एकअर्काप्रति खेदो खन्ने प्रवृत्तिले गाउँका कार्यकर्तामा निरासा छाएको बताए ।

पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूले पनि कम्युनिस्टहरूले निर्वाचनका बेला गरेको बाचा भुलेर आफैले कमाउने धन्दा शुरु गरेकाले बाध्य भएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

उनीहरूले कांग्रेस पार्टी कम्युनिस्टहरू जस्ता गफाडी नरहेको भन्दै कांग्रेसले नै देश र जनताका लागि काम गर्ने बताएका थिए ।

Published : Thursday, 2019 September 19, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया