देउवाको बदनाम गर्न खोजेपछि गौतमले दिए कडा जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले विषयगत समितिका सदस्यहरूको हेरफेर गरेको विषयलाई लिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट संसदमा प्रतिनिधित्व गर्ने सासद गौतमले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘भदौ २२ गते आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विषयगत समितिका सदस्यहरूको हेरफेर गरेको सम्बन्धमा मेरो नाम जोडेर विभिन्न सञ्चारमाध्यमहरूमा गलत समाचार प्रकाशन भएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘मेरो पूर्ण सहमतिमा प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिबाट विकास तथा प्रविधि समितिमा स्थानान्तरण गरिएको हो’, उनले भनेका छन् ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा एनसेल कर सम्बन्धी विषयसँग जोडेर नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेतालाई समेत बदनाम गराउने एवं आमनागरिकमा भ्रम फैलाउने उद्देश्यका साथ प्रकाशन भएका समाचारहरूप्रति गम्भीर आपत्ति प्रकट गर्दछु’, सांसद गौतमले भनेका छन् ।

‘यसप्रकारका भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गर्न र नगराउन सम्बन्धित सबैमा अपील समेत गर्दछु’, सांसद गौतमको विज्ञप्तिमा भनेका छन् ।

Published : Wednesday, 2019 September 18, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया