नेकपाका अरिँगालहरूविरुद्ध तरुण दलको प्रदर्शन

नेपालगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालामाथि कुटपिट गरिएको घटनालाई लिएर नेपालगञ्जमा मंगलबार नेपाल तरुण दलले प्रदर्शन गरेको छ ।

शुक्रबारदेखि जारी आन्दोलनको चौथो दिन मंगलबार नेपालगञ्जको धम्बोजी चोकमा तरुण दलले टायर बालेर बिरोध जनाएको हो ।

नेपाल तरुण दलका नेता तथा कार्यकर्ताले सभापति किरण कोइरालामाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग राखे । उनीहरू सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

आन्दोलनमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा एक घण्टा धर्ना बसेर युनियनले विरोध जनाएको थियो ।

बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको महाधिवेशन प्रतिनिधी लक्ष्मीनारायण शाहले बताएका छन् ।

‘न्याय नपाउँदासम्म आन्दोनल रोकिने छैन’, उनले भने, ‘जागरण अभियान समेत चलाउने कुरो छ ।’

केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए । मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने कांग्रेसका नेताहरुले बताएका थिए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम चलिरहेको बेला बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ ।

नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ ।

Published : Tuesday, 2019 September 17, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया