ओली–देउवाको सहमतिलाई २४ घण्टाभित्रै बिथोल्ने ‘अरिँगाल’

काठमाडौं । नेपाली कांग्रेसले सहमति दिएर संसद खोल्नेवित्तिकै सहज रुपमा अगाडि बढेको सोमबारको बैठकमा एकाएक माहोल बिग्रिगएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले बाँके घटनाका दोषीलाई कारबाही र कांग्रेसको जाहेरी दर्ता गर्न सहमति जनाएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूबीच सौहार्दपूर्ण सम्बन्ध बनेको धेरैले विश्लेषण गरेका थिए । त्यो सम्बन्ध २४ घण्टा पनि टिक्न सकेन ।

संसदको सोमबारको बैठकमा पनि नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसद सुचारु सहयोग गर्ने भन्दै कांग्रेसको निर्णय सुनाइएकी थिइन् ।

त्यसै बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बाँकेका सांसद नन्दलाल रोकायले बाँके घटनामा नेकपाले पनि सडक प्रदर्शन गर्ने भनेपछि संसद बैठक चलाउने पूर्वसहमति भाँडिएको थियो ।

रोकायले नेपाली कांग्रेसलाई चेतावनी दिँदै नेकपाले पनि सडक प्रदर्शन गर्नेपछि कांग्रेसका सांसदहरू नारावाजी गर्दै रोष्टमको अगाडि पुगेका थिए ।

नेपाली कांग्रेसकी बाँके जिल्ला सभापति किरण कोइरालामाथि गत बिहीबार भएको आक्रमणका दोषीलाई कारबाही गर्ने विषयमा कांग्रेसले संसदमा नाराबाजी गरेको थियो ।

बाँके क्षेत्र नं. ३ का सांसद रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेका थिए । उनले कांग्रेसले उजुरी दिएकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए ।

रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेका थिए । केहीबेरमा उनीहरूले रोष्ट्रम घेरेर नाराबाजी गरे ।

उनीहरूले ‘राज्य आतंक बन्द गर, दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

नेपाली कांग्रेस सांसदले लामो समयसम्म नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो । सभामुख महराले नै नेकपाका सांसद रोकायलाई समय दिएर संसदको वातावरण विथाल्न भूमिका खेलेको आरोप लगाएको छ ।

आइतबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्री ओली र नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बाँके घटनाबारे छलफल गरेका थिए ।

आइतबार साँझ भएको सहमति उल्लंघन गराउँदै संसदमा असहज अवस्था सिर्जना गराउन सांसद रोकायलाई कसले उचालेको हो भनेर खोजी शुरु भएको छ ।

नेपाली कांग्रेसले नेकपाको दुईतिहाइको बलियो सरकारले नै रोकायलाई उचालेको हुन सक्ने अनुमान गरेको छ ।

Published : Tuesday, 2019 September 17, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया