‘अरिँगाल–छौडा’हरू सम्हाल्न खतिवडाको ओली–दाहाललाई चेतावनी

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गर्नेतिर भन्दा पनि दुईतिहाइको बलियो कम्यनिस्ट सरकार गफ र जनतालाई तर्साउने काममा सक्रिय रहेको आरोप लगाएका छन् ।

गृहजिल्ला ओखलढुंगामा आइतबार र सोमबार आयोजित कार्यक्रमहरूमा खतिवडाले निर्वाचनमा गरेको प्रतिवद्धातालाई स्मरण गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई सचेत गराए । ‘निर्वाचनमा गरिएका आश्वासनहरू कहिले पूरा हुन्छन् ?’, उनले प्रश्न गर्दै भने, ‘गफ होइन काम गर्नुपर्छ ।’

सत्ताको आडमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू अराजक बनेको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले गृहमन्त्रीकै भाई अपराधमा संलग्न भएको घटनाले ठूलो प्रश्न उठाएको बताए । उनले दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् ।

खतिवडाले नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानबाट दुईतिहाइको कम्युनिस्ट सरकार तर्सिएको आरोप लगाएका छन् ।

‘नेकपाका अरिँगाल र छौडाहरू कांग्रेसको जागरण अभियानबाट अत्तालिएका छन्’, उनले भने, ‘बाँकेमा कोठाभित्र कांग्रेसले गरेको कार्यक्रममा सांघातिक हमला गरेर जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने काम भएको छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई सम्हालेर राख्न खड्गप्रसाद ओली र पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

उनले भने, ‘सत्ताको आडमा नेकपाका कार्यकर्ताहरू अराजक बन्दै छन् । उनीहरूलाई सम्हाल्न मेरो सुझाव छ । होइन भने नेपाली कांग्रेसले त्यसको जवाफ शान्तिपूर्ण रुपमा कसरी दिने हो जानेको छ ।’

ओखलढुंगामा स्वागत द्वार निर्माण

यसैबीच, ओखलढुंगाको हर्कपुरमा ‘ओखलढुंगा जिल्ला समाज युके’द्वारा निर्माण गरिएको स्वागत द्वारको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता खतिवडा सहभागी भएका छन् । सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारपनि सहभागी थिए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा, सांसद सुनुवारलगायतले प्रवेश द्वारको विधिवत रुपमा उद्घाटन गरेका थिए ।

युवा नेता खतिवडाले ओलढुंगा जिल्ला समाज युकेले विदेशमा रहेर पनि जिल्लाको विकास र पहिचानका लागि गरेको योगदानको प्रशंसा गरे ।

‘युकेमा बसेर पनि जिल्लाको माया मान्नुभएको छ । जिल्लाको विकासमा विभिन्न काम गर्दै आउनु भएको छ’, खतिवडाले भने, ‘यो अत्यन्तै राम्रो काम भएको छ । आगामी दिनमा पनि ओखलढुंगावासीले यस्तै रचनात्मक कामको अपेक्षा राखेका छन् ।’

खतिवडाले ओखलढुंगाका केही जनप्रतिनिधिहरू आफ्नो व्यक्तिगत र घरपरिवार तथा नातागोताको हितमा मात्रै केन्द्रित भएकाले जिल्लाको विकासमा समस्या भएको आरोप लगाएका थिए ।

Published : Tuesday, 2019 September 17, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया