कांग्रेसलाई १४औँ महाधिवेशन गराउन बाटो खुल्यो, नयाँ संरचना बन्दै

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन क्षेत्रस्तरका संरचना गठनसँगै १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

कांग्रेसले शनिबारसम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन् ।

एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा क्षेत्रीय समिति नचाहिने र बाँकी ७ जिल्लामा केही दिनमै गठन भइसक्नेछ ।

राज्य पुनःसंरचनाका क्रममा दुई जिल्ला थपिनुका साथै वडा, गाउँ, नगर र निर्वाचन क्षेत्र समायोजन भएपछि कांग्रेसका तत्कालीन संरचना भत्किएका थिए ।

संविधान जारी भएको चार वर्ष पुग्न लाग्दा बल्ल कांग्रेसले संघीय ढाँचाअनुसार संरचना बनाउन लागेको हो ।

पुरानै संरचनालाई समायोजन गरेर अन्तरिम कार्यसमिति गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गराउन गठित निर्वाचन समितिलाई जिम्मा दिएको थियो ।

पार्टीका तल्ला तहका संरचना नहुँदा महाधिवेशन प्रक्रियासमेत अघि बढ्न सकेको थिएन । अहिले गठन भएका संरचना अन्तरिम अवधिका लागि हुन् ।

सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल थपेर ७७ फागुनसम्म महाधिवेशन गर्ने जानकारी केन्द्रीय कार्य समिति बैठकमा गराइसकेका छन् ।

विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन पाइन्छ । संविधानले त्यसमा थप ६ महिनाको सुविधासमेत दिएको छ ।

महाधिवेशन अघि बढाउन पार्टीको क्रियाशील सदस्यताको नवीकरण र वितरण गर्नुपर्ने हुन्छ ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको काम विधानले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई सुम्पेको छ ।

क्षेत्रीय कार्यसमितिले पनि वडा, गाउँ र नगर कार्यसमितिको सिफारिसअनुसार क्रियाशील सदस्यता टुंगो लगाउने गर्छन् ।

महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन क्षेत्रीयस्तरका कार्यसमितिसँगै गाउँ, नगर र वडा तहका संरचना गठन हुनुपर्छ ।

सदस्य घिमिरेका अनुसार डोल्पा, मनाङ, मुस्ताङ, सप्तरी, सिरहा, सिन्धुपाल्चोकमा मात्रै क्षेत्रीय कार्यसमिति गठन बाँकी छ ।

७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको संरचना गठन अघि बढाइएको छ । कात्तिक मसान्तभित्र वडा तहसम्मकै संरचना गठन भइसक्नेछ ।

प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अहिले १ सय ३० क्षेत्रीय कार्यसमिति गठन हुनेछन् ।

एक निर्वाचन क्षेत्र रहेका जिल्लामा निर्वाचन क्षेत्रको काम जिल्ला कार्यसमितिले हेर्छ । प्रदेश कार्यसमिति भने ३ सय ३० क्षेत्रमै गठन गरिने कांग्रेसले जनाएको छ ।

स्थानीय तहका संरचना गठनमा विवाद नहोस् भनेर ९ वटा मापदण्डसहितको निर्देशिका जारी गरिएको थियो ।

Published : Monday, 2019 September 16, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया