कैलाली १ ‘क’मा घिमिरेले गरे कमाल, कांग्रेसमा भित्र्याए नेकपा थुप्रै कार्यकर्ता

धनगढी । नेपाली कांग्रेस कैलालीको क्षेत्र नं. १ ‘क’ मा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दलमा आवद्ध नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कैलालीको क्षेत्र नं. १ ‘क’को जोशीपुर गाउँपालिका, लोखरी, मुद्धी र बर्गदहीमा आइतबार भएका अलग अलग कार्यक्रमहरूमा झण्डै पचास जना विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कैलाली क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसका युवा नेता एवम् दाङबाट प्रदेश सभामा उम्मेदवार बनेका कमलकिशोर घिमिरे केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।

आइतबार आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्दै युवा नेता घिमिरेले देशमा बढ्दै गएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका गलत हर्कतका विरुद्ध एक जुट हुने बेला आएको बताए ।

‘यो देशको विकास र जनताको चाहना पूरा गर्ने भनेको नेपाली कांग्रेस मात्रै हो’, उनले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकारले देश र जनतालाई केही गर्न सकेको छैन । गर्न पनि सक्दैन । अब देश र जनताका लागि कांग्रेस मात्रै बिकल्प छ ।’

नेपाली कांग्रेसका युवा नेता घिमिरेले कम्युनिस्टहरूको निरंकुशता र अधिनायकवादका विरुद्ध एक जुट हुन कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

घिमिरेले पार्टीलाई गाउँ तहदेखि नै बलियो बनाउने हो भने कसैले पनि कांग्रेसलाई हराउन नसक्ने बताए ।

कार्यक्रममा गाउँका स्थानीय कार्यकर्ताले केन्द्रमा ठूला नेताहरूबीच भएको बेमेलका कारण गाउँ तहसम्म प्रभाव पर्ने गरेको बताएका थिए । उनीहरूले केन्द्रीय नेताहरूलाई मिलेर पार्टी बनाउन सुझाव दिएका छन् ।

Published : Monday, 2019 September 16, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया