‘अरिँगाल’हरूले ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोले, भौतिक आक्रमण

काठमाडौं । भ्रष्टाचार विरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका नेता तथा कार्यकर्ताहरूले हातपात गरेका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण बुद्ध एयरको जाहाज एक घण्टासम्म ढिला भएको विषयमा शाहीले ललितपुरमा आइतबार पत्रकार सम्मेलन राखेका थिए ।

पत्रकार सम्मेलनमा पत्रकारको भेषमा प्रवेश गरेका २०–२५ जनाको नेकपा निकटका ‘अरिँगाल’हरूले नागरिक अभियन्ता शाहीको पत्रकार सम्मेलन विथोलिदिएका हुन् । उनीहरूले शाहीलाई हातपातको प्रयास समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा जथाभावी प्रश्न सोध्न थालेपछि शाहीले तपाई कुन मिडियाबाट हो भनेर सोधेका छन् । ती अरिँगालहरूले ‘हामी विद्यार्थी हो’ भनेका छन् ।

त्यसपछि शाहीले ‘यो विद्यार्थीका लागि होइन, पत्रकार सम्मेलन हो’ भनेका थिए । लगत्तै अरिँगालहरूले आक्रमण गरेको भिडियोमा देखिएको छ ।

‘अरिँगाल’हरूको आक्रमणबाट शाहीलाई प्रहरीले बचाएको थियो । उनीहरूको आ’क्रमणबाट शाहीका केही समर्थकहरू सामान्य घाइते भएको शाहीको फेसबुकमा राखिएको भिडियोमा उल्लेख छ ।

भिडियोअनुसार शाहीलाई नेकपाका अरिँगालहरूले विभिन्न लाञ्जना लगाएर पर्यटनमन्त्री भट्टराई विरुद्ध किन अभिव्यक्ति दिएको बताएका छन् ।

उनीहरूले मन्त्री भट्टराईको विरोध गर्न नहुने समेत बताएका छन् ।

शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री भट्टराईले एक घण्टा बुद्ध एयरका जहाज रोकेर राखेपछि नागरिक अभियन्ता शाही र अधिवक्ता बालकृष्ण न्यौपानेले प्लेन बाहिर र भित्र प्रश्न सोधेर र्‍याखर्‍याख पारेका थिए ।

काठमाडौं ओर्लनेवित्तिकै ट्वीट गर्दै मन्त्री भट्टराईले आफ्नो गल्तीहरूलाई ढाकछोप गर्दै पूर्वयुवराज पारस शाहसँग जोडेर शाहीसहितका समूहको आलोचना गरेका थिए ।

मन्त्री भट्टराईले गलत कुरा बोलेको भन्दै शाहीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा नेकपाका अरिँगालहरू प्रवेश गरेर बिथोल्नुका साथै शाहीलाई हातपातको प्रयास गरेका छन् ।

Published : Sunday, 2019 September 15, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया