कम्युनिस्ट सरकारका ‘सेलिब्रेटी’ मन्त्रीले विमानभित्रै झण्डै भेटे…(भिडियाे)

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक घण्टासम्म बुद्ध एयरको प्लेनलाई रोकेर राखेपछि विमानस्थलमा हँगामा भएको छ ।

नेपालगञ्ज एयरपोर्टबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जाहाजलाई शनिबार साँझ ‘सेलिब्रेटी’ मन्त्री भट्टराईले एक घण्टा कुराएर राखेका थिए । मन्त्री भट्टराई प्लेनमा आउन एक घण्टा ढिलो गरेपछि बुद्ध एयरका साथै विमानस्थल र सुरक्षाकर्मीहरूले विमानभित्र यात्रुलाई राखेर रनवेमा राखेको थियो ।

त्यसपछि भ्रष्टाचारविरुद्धको अभियान्ता ज्ञानेन्द्र शाहीसहितका यात्रुहरूले विमानस्थलमा रोकी राखेको विमान बाहिर र विमानभित्रै हँगामा गरेका थिए । शाहीसहितका यात्रुहरू सोही विमानबाट काठमाडौं आउँदै थिए ।

विमानका यात्रुले पञ्चायती शैलीमा विमानलाई एक घण्टासम्म रोकेर राख्ने तपाई को हो मन्त्रीज्यू भनेर प्रश्न गरेका थिए । मन्त्री भट्टराई चुपचाप लागेर बसेका थिए । भट्टराई एक शब्द पनि बोलेनन् ।

यात्रुहरूले मन्त्री भट्टराईको हर्कतको विरोध गर्दै हातपातसम्म गर्न खोजेका थिए । तर, मन्त्री भट्टराईको सुरक्षार्थ खटिएका नेपाल आर्मीका अंगरक्षक र निजी सचिवले छेकेर बचाएका थिए ।

सामाजिक सञ्जालमा के–के नै गर्छु भने जसरी गतिविधि गर्दै आएका कम्युनिस्ट सरकारका यी ‘सेलिब्रेटी’ मन्त्री भट्टराईले यात्रुलाई एकघण्टासम्म बुद्ध एयरभित्र थुनाएपछि यात्रुहरूले आक्रोश व्यक्त गरेका छन् ।

दुईतिहाइको कम्युनिस्ट बलियो सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली विमानबाट आवतजावत गर्दा विमानस्थलमा उडानहरू अबरुद्ध हुने गरेका छन् ।

त्यति मात्रै होइन राष्ट्रपति विद्यादेवी भण्डारीका लागि पनि विमानस्थल खाली गराउने गरिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पनि जनकपुरबाट काठमाडौं आउने बेला एक घण्टासम्म जहाजलाई जनकपुर एयरपोर्टमा रोकेर राखेका थिए । त्यसको पनि विरोध भएको थियो ।

Published : Saturday, 2019 September 14, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया