काठमाडौंमा कांग्रेसको भव्य प्रदर्शन, ओली सरकारविरुद्ध लाग्यो नारा

काठमाडौं । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले सांघातिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिहरूले काठमाडौंमा धर्ना दिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा शनिबार अपरान्ह तीन जिल्लाका सभापतिहरूको नेतृत्वमा नेता तथा कार्यकर्ताले आधा घण्टा धर्ना दिएर नेकपाका दोषी कार्यकर्ताहरूलाई पक्राउ गरेर कारबाहीको माग गरेका हुन् ।

धर्ना कार्यक्रमको नेतृत्व नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले नेतृत्व गरेको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए । धर्ना कार्यक्रमलाई तीन जिल्लाका सभापतिहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले सत्ताको आडमा नेकपाका नेता तथा कार्यकर्ताहरूमा अहँकार र दम्भ पलाएको बताए । नेकपाका दोषी नेता तथा कार्यकर्तालाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

सयौँको संख्यामा जम्मा भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध केही समय नाराबाजी समेत गरेका थिए ।

राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा भएको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरूले हलभित्र भइरहेको कार्यक्रममा आक्रमण गरेका थिए ।

नेकपाको आक्रमणबाट नेपाली कांग्रेसकी बाँके सभापति किरण कोइरालाको हात भाँच्चिदिएको छ । कांग्रेसको अन्य नेता तथा कार्यकर्ताहरू घाइते भएका थिए ।

Published : Saturday, 2019 September 14, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया