तरुण दलका महासचिवलाई कारबाही

काठमाडौं । पदीय मर्यादा विपरितका गतिविधि गरेको भन्दै नेपाल तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीलाई पदबाट हटाएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार साँझ विज्ञप्ति जारी गरेर महासचिव शाहीलाई पदबाट हटाएका हुन् । शाहीले पदीय मर्यादा, जिम्मेवारी र दलको आदर्श एवं सिद्धान्त विरपरीत अनुशासनहीन कार्य गरेकाले उनलाई पदबाट हटाइएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाहीलाई तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको दलका अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष बस्नेतले कारबाही गरेका सिन्धुपाल्चोक उपाध्यक्षलाई महासचिव शाहीले एकलौटी ढंगले पत्र पठाएर फुकुवा गर्नुका साथै सप्तरी जिल्लामा तरुण दलको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्ति गरेपछि विवाद बढेको थियो ।

शाहीले मंगलबार तरूण दल सिन्धुपाल्चोक उपाध्यक्ष सगुन श्रेष्ठलाई कारबाही फुकुवा गरेको पत्र पठाएका थिए ।

श्रेष्ठलाई संगठनको हितविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले कारबाही गरेका थिए । अध्यक्ष बस्नेतले शाहीलाई नेपाल तरुण दलको विधान परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार कारबाही गरेको जनाएका छन् ।

सप्तरी तरूण अध्यक्षमा सीताप्रसाद यादवलाई पनि अध्यक्ष तोकेर पत्र पठाएको भन्दै शाहीलाई पदीय मर्यादाभित्र बस्न अध्यक्ष बस्नेतले चेतावनी दिँदै आएका थिए ।

बुधबार विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतले ‘सिन्धुपाल्चोक उपाध्यक्षलाई गरेको कारबाही यथावत रहेको र सप्तरीमा कसैलाई पनि अध्यक्ष नबनाएको’ उल्लेख गरेका थिए ।

महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रूपमा गरेको निर्णय अस्वीकृत गरेको बस्नेतले बताएका थिए ।

अध्यक्ष बस्नेतले विज्ञप्ति निकालेपछि बुधबार नै विज्ञप्ति निकालेका महामन्त्री शाहीले आफूले गरेका सबै निर्णयहरू आधिकारिक भएको उल्लेख गरेका थिए ।

‘तरूण दलको सभापतिको हवला दिएर अबदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएकोसमेत स्पष्ट पार्न चाहन्छौं’, शाहीले निकालेको विज्ञप्तिमा भनिएको थियो ।

यसैबीच, कारबाहीमा परेका शाहीले पनि विज्ञप्ति जारी गरेर तरुण दलका अध्यक्ष बस्नेतलाई कारबाही गरेका छन् । शाहीले अध्यक्ष बस्नेतलाई एक वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेका छन् ।

शाहीले अध्यक्ष बस्नेतलाई कारबाही गरिएको विषयमा विधानको कुनै पनि विधान र धारा उल्लेख गरेका छैनन् ।

अध्यक्ष बस्नेतलाई शाहीले बाढी पीडितको लागि संकलित लाखौँ रकम हिनामिना गरेको, भ्रष्टाचार विरुद्धको आन्दोलन गर्न नदिनएको, केन्द्रीय कार्यसमिति विस्तार नगरेको जस्ता अरोप लगाएका छन् ।

Published : Saturday, 2019 September 14, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया