साढे दुई वर्षपछि प्रचण्ड–रेणुसँग कांग्रेसले लियो बदला, पूर्वएमालेले दियो साथ

भरतपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहरूलाई पराजित गर्दै नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले निर्माण व्यवसायी संघ चितवनमा कब्जा जमाएका छन् ।

नेकपाबाट छवि गौतमको समूह निर्वाचनमा उत्रिएको थियो । नेपाली कांग्रेसको तर्फबाट उमाकान्त पौडेल ‘बाबुराम’ले उम्मेदवारी दिएका थिए ।

चुनावी अंक गणित कांग्रेस निकट व्यवसायिहरुको पक्षमा थिएन । ९५ जना मतदाताहरू नेपाली कांग्रेस निकटका थिए ।

पूर्वएमाले र माओवादी गरी नेकपा निकट १ सय ८९ जना व्यवसायी मतदाताहरू थिए ।

परिणाम भने नेपाली कांग्रेस निकटका व्यवसायी कँडेलको पक्षमा आएको छ । कँडेलले २०४ मत ल्याए विजयी भएका छन् । नेकपा निकटका गौतमले जम्मा ६८ मत मात्रै पाएका थिए ।

अध्यक्षमा पराजित गौतम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साला हुन् । प्रचण्डका सालालाई नेपाली कांग्रेसले भन्दा पनि पूर्वएमालेहरूलाई हराइदिएका छन् ।

प्रचण्डको आफ्नै साला तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका मामालाई पूर्वएमालेहरूले हराइदिएपछि पूर्वमाओवादीभित्र खैलाबैला भएको छ ।

नेपाली कांग्रेस निकटका उम्मेदवारले साढे दुई वर्षपछि प्रचण्डकै परिवारभित्रकै सदस्यलाई हराएर बदला लिएको छ ।

निर्माण व्यवसायी संघ चितवनमा नेकपाका अध्यक्षका उम्मेदवार गौतमले ल्याएको मत पूर्वमाओवादी निकटको मात्रै भएको बताइएको छ ।

चितवनमा पूर्वएमालेहरू निकटका व्यवसायी र मतदाताहरूले नेपाली कांग्रेसका उम्मेदवार कँडेललाई मतदान गरेर जिताइदिएका छन् ।

कहिले नेपाली कांग्रेस, कहिले नेकपा (एमाले)को बुइ चढेर राजनीति गर्दै आएका प्रचण्डलाई चितवनमा एकपछि अर्को गर्दै नेपाली कांग्रेसले झट्का दिँदै आएको छ ।

चितवनका अधिकांश सामुदायिक वन र खानेपानी उपभोक्ता समितिहरूले नेपाली कांग्रेसले नेकपाका उम्मेदवारहरूलाई हराउँदै आएको छ ।

स्थानीय तहको निर्वाचनमा जालझेल र नेपाली कांग्रेसको साथ लिएर छोरी रेणु दाहाललाई मेयरमा विजयी बनाएका प्रचण्डले यस पटक सालालाई जिताउन सकेनन् । पार्टीभित्रको राजनीतिलाई आफ्नै परिवारभित्र सीमित बनाउन खोज्दा प्रचण्ड आफ्नै गृहजिल्ला चितवनमा चिप्लिएका छन् ।

निर्वाचनमा सालो हार्छ भनेर प्रचण्डले सोँचेका पनि थिएनन् होला । तर, नेपाली कांग्रेसले भित्री रुपमा पूर्वएमालेको साथ पाएपछि अध्यक्ष पद हत्याएको छ ।

प्रचण्डको पारिवारिक सदस्यमार्फत प्रचण्डमाथि गरिएको यो प्रहारले चितवनको नेकपाभित्रको आन्तरिक गुटवन्दी र लडाइँलाई सतहमा आएको छ ।

प्रचण्डका सालालाई हराउने पूर्वएमालेहरूलाई पूर्वमाओवादीले समय आयो भने हिसाव किताव देखाइदिने भनेर चेतावनी दिएका छन् ।

चुनावमा द्वितीय उपाध्यक्षमा नेकपाका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले नेपाली कांग्रेस निकटका भीष्म अधिकारीलाई पराजित गरेका हुन् । न्यौपानेले १५४ मत प्राप्त गरेका थिए भने अधिकारीले ११६ मत पाएका थिए ।

संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याएका छन् ।

सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी बाबुराजा सिंहले १११ मत प्राप्त गरेका छन् ।

संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती २१८, संजय न्यौपाने १८५, शिवलाल ढकाल १७१, प्रकाश तिवारी १६८, दीपक अधिकारी १५९, विष्णुप्रसाद लामिछाने १४५, दीपक पाठक १३९ र पिताम्बर बास्तोला १३७ मत ल्याएर विजयी भएका छन् ।

कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेदवारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध भएका थिए ।

महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेदवारी दिएकी अनुजा धितालले उम्मेदवारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध भएकी हुन् ।

निर्वाचनमा कुल २७८ मत खसेको थियो । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।

Published : Saturday, 2019 September 14, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया