बाँके घटनामा कांग्रेसका सभापतिहरू र गृहमन्त्रीबीच भेट, अरिँगालहरूलाई कारबाही गर्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी कुपिट गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यसहितको टोलीले शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरूले बाँकेमा शान्तिपूर्ण कार्यक्रममाथि सांघातिक आक्रमण गर्ने नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारबाही गर्न माग गरिएको भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले जानकारी दिए ।

तीन जिल्लाका सभापतिहरूले नेपाली कांग्रेसमाथि आक्रमण हुनु भनेको लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै गृहमन्त्री थापाको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्री थापाले बाँके घटनाबाट आफू दुखी रहेको बताएका छन् । उनले दोषी जो भएपनि कारबाही गरिने प्रतिवद्धता जनाएको सभापति थापाले जानकारी दिएका छन् ।

‘जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा मिति २०७६ भदौ २६ गते बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीयस्तरका नेता तथा खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, लोके भन्ने नाम नखुलेको समतेका १३/१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ज्यानै मार्ने नियतले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि सामूहिक आक्रमण गरेका छन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैनभन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेपाली कांग्रेस बाँकेका सभापति श्रीमती किरण कोइरालाको हाँत भाचिएको र दर्जनौं नेता तथा कार्यकर्ताहरू घाइते हुनु भएको छ’, ज्ञपान पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले बचाउ गरेका कारणले मात्र उहाँहरूको ज्यान जोगिएको र थप मानवीय क्षति हुन नसकेको थियो ।’

‘नेकपाका ५०–६० को संख्यामा रहेका कार्यकर्ताह–ले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए’, नेपाली कांग्रेसले भनेको छ, ‘यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ ।’

‘राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ’, नेपाली कांग्रेसले भनेको छ ।

‘बढ्दो महँगी, भ्रष्टाचार, महिला हिँसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरूका कार्यकर्ताहरू अतालिएका छन्’, नेपाली कांग्रेसको ज्ञापनपत्रमा भनिएको छ, ‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।’

‘नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई विथोल्ने वद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरूलाई आक्रमण गर्ने अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’

‘भविष्यमा यस्ता घटनाहरु नदोहरिन दिन सरकारलाई सचेत गराउँदछौं’, नेपाली कांग्रेसले चेतावनी दिँदै भनेको छ, ‘उल्लेखित दोषीहरू उपर कारवाही नभएको खण्डमा नेपाली कांग्रेसले कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न वाध्य हुने समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौँ ।’

नेपाली कांग्रेसले बाँके घटनाको विरोधमा काठमाडौं, भक्तपुर र ललितपुरको सभापतिहरूको नेतृत्वमा शनिबार अपरान्ह ३ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम राखेको छ ।

Published : Saturday, 2019 September 14, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया