बाँके काण्डमा कम्युनिस्टहरूसँग पड्किए देउवा, ‘अरिँगाल’हरूलाई नछाड्ने

घोराही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँके घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस दाङले शुक्रबार घोराहीमा वीपी कोइरालाको शालिक अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले दोषीलाई कारबाही गर्नुपर्ने अन्यथा संसद चल्न नदिने चेतवानी दिए ।

‘हाम्रा नेता तथा कार्यकर्तालाई कुट्नेलाई कारबाही नहुँदासम्म सदन चल्न दिँदैनौं’, उनले भने, ‘दुईतिहाइको सरकारले अब के गर्छ ?’

नेकपाका कार्यकर्ताहरूको सांघातिक आक्रमणबाट नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बिहीवार बाँके सभापति किरण कोइरालासहित आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको भन्दै सभापति देउवाले दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

सभापति देउवाले कुनै पनि हालतमा दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘बाँकेमा आक्रमण भएको छ । शान्तिपूर्ण कार्यक्रम गर्न पाइँदैन ? हामी पनि हात भाँच्न सक्छौँ । तर त्यस्तो गर्दैनौँ’, आक्रोशित हुँदै सभापति देउवाले भने, ‘आक्रमणकारी जोसुकै भएपनि कारबाही हुनुपर्छ । कुनै पनि हालतमा सहने छैनौँ ।’

‘हामीले कसैको कार्यक्रम र मिटिङमा हामी आक्रमण गर्दैनौँ । गरेको पनि सहँदैनौँ’, उनले भने, ‘कोठाभित्रको बैठकमा आक्रमण गर्ने कहाँको लोकतन्त्र हो ?’

उनले अभिव्यक्ति र प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरिरहेको बताए । ‘प्रजातन्त्रमाथि आक्रमण हुन थालेको छ । विभिन्न किसिमले सञ्चारजगतमा आक्रमण भएको छ’, देउवाले भने, ‘विभिन्न विधेयक ल्याएर दमन गर्न खोजिएको छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘हाम्रा अगाडि लड्नुभन्दा अर्को बिकल्प छैन । कम्युनिस्टहरू सच्चिएनन् भने आन्दोलन गर्नुपर्छ । तपाईहरू तयार भएर बस्नुस् ।’

कम्युनिस्टहरूले संविधानलाई देखाएर सत्ताकब्जा गर्न खोजेको उनले आरोप लगाए । ‘कम्युनिस्ट सरकार हुनु एउटा कुरा हो । कम्युनिस्ट व्यवस्था हुन अर्को कुरा हो’, उनले भने, ‘सत्ताकब्जा गर्न खोज्दै छन् । प्रजातन्त्र कांग्रेसले ल्याएको हो । कांग्रेसमाथिको आक्रमण प्रजातन्त्रमाथिको आक्रमण हो ।’

पार्टीलाई सुदृढ गर्नका लागि जागरण अभियान सञ्चालन गरेको भन्दै सभापति देउवाले सबै कार्यकर्तालाई एकजुट भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

कांग्रेसका अगाडि धेरै गर्नुपर्ने काम रहेको देउवाले बताए । उनले भने, ‘चुनौतीसँग लड्न पार्टी एक हुन जरुरी छ । अन्यथा प्रजातन्त्र कमजोर हुन्छ ।’

सभपाति देउवाले भने, ‘हाम्रो पार्टी एक भएको खण्डमा कसैले केही गर्न सक्दैन । पार्टी भनेको अनुशासन पनि हो । सबै नेता तथा कार्यकर्ता अनुशासनहीन हुनु हुँदैन । सबै अनुशासनमा बस्नुपर्छ । अराजक नेता तथा कार्यकर्ताले गर्दा पार्टीलाई नोक्सानी हुन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अहिलेको कम्युनिस्ट सरकारले धरासायी बनाउन खोजेको भन्दै आपत्ति जनाए । ‘हाम्रो पालामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएका थियौँ’, उनले भने, ‘अहिलेको सरकारले त्यसलाई समाप्त पार्ने दुस्प्रयास गरेको छ ।’

देउवाले दुईतिहाइको कम्युनिस्ट सरकारसँग जनता करका कारण आजित बनेको बताए । ‘यो सरकारले जनतालाई मार्ने गरेर कर लगाएको छ’, उनले भने, ‘जताततै महँगी बढेको छ । व्यापारीहरूलाई सताइएको छ । करले सबैलाई दुःख दिइएको छ ।’

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेस एकजुट हुने बेला आएको बताए । बाँकेमा भएको आक्रमणको विरोध गरेका गिरीले भने, ‘नेकपाका नेता तथा कार्यकर्ता भएपनि उनीहरूलाई कारबाही गर्नुपर्छ । कांग्रेसले यस्तो ज्यादती सहँदैन ।’ नेता गिरीले दाङको विकास नेपाली कांग्रेसले गरेको भन्दै एक पटक पराजित हुँदा पनि विकासका कार्यक्रम कटौती भएको बताए ।

नेता गिरीले कम्युनिस्टहरूले जनतालाई झुक्काएर जितेको बताए । ‘विधिको शासनलाई अन्त्य गर्न खोज्ने, शान्तिपूर्ण रुपमा बसेका दंगालीको शान्ति खलबाउनेहरूलाई हामीले चिनेका छौँ’, उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा राम्रो अस्पताल बनाउने भनेका थियौँ । कम्युनिस्टहरूले त्यो पनि हुन दिएनन् ।’

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले कम्युनिस्टहरू मिलेका कारण दाङमा कांग्रेस पराजित हुन परेको बताए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान बनाउँदा पनि नेपाली कांग्रेस जनतामा पराजित भएको बताए ।

‘मुख्यमन्त्री दाङका नेता भएका छन् । यही ठाउँबाट निर्वाचित भएर प्रदेश ५ को मुख्यमन्त्री बनेका छन् । यहीबाट जितेर सभामुख बनेका छन्’, उनले भने, ‘मुख्यमन्त्री र प्रतिनिधि सभाका सभामुखले विगतमा नेपाली कांग्रेसका सांसदहरूले ल्याएको जति पनि बजेट ल्याउन सकेका छैनन् ।’

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीका नेताहरू एक भएर जानुपर्ने बताएका छन् । ‘पार्टी एक हुने हो भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन’, उनले भने, ‘पार्टीलाई एक जुट बनाउने दायित्व आएको छ । कम्यनिस्टहरूलाई हराउनेभन्दा पनि हामी बलियो भयौँ भने उनीहरू आफै हार्छन् ।’

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले बाँकेमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरे । उनले बाँके घटनालाई कांग्रेसमाथि प्रहार भएको बताए । उनले खुमबहादुर खड्का हुँदा कांग्रेसका कार्यकर्ताको मनोबल उच्च भएको प्रसंग कोट्याउँदै अबका दिनमा कांग्रेसमाथि कसैले औँला उठायो भने छाड्न नहुने बताए ।

राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले बाँकेको घटनाको विरोध गरिन् । उनले कम्युनिस्ट सरकारले व्यक्तिगत सम्पत्तिमा कर लगाएर अन्याय गरेको बताइन् । उनले केपी ओलीका अरिँगालहरूलाई सम्हालेर राख्न चेतावनी दिइन् ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, किशोरसिंह राठौर, शिला खड्का, अनिता देवकोटा, अभिषेकप्रताप शाह, याेगेन्द्र चाैधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सम्झनामा दाङको नारायणपुर बजारको चोकको नाम ‘खुमबहादुर खड्का चोक’ राखिएको छ ।

तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत नारायणपुर बजारभित्र दक्षिणमा ढिकपुर र उत्तरमा बिपी बाटिका जाने वडा नम्बर १० को सडक खण्डको चोकलाई खुमबहादुर चोकको रूपमा नामाकरण गर्न लागिएको हो ।

जिल्लामा स्वर्गीय नेता खुमबहादुर खड्काको नामबाट चोक नामाकरण गर्न लागिएको यो नै पहिलो भनिएको छ ।

नेपाली कांग्रेस त्रिपुरनगर समितिका सभापति दीपक पाण्डेको अध्यक्षता र निर्वाचन क्षेत्र नं. ३ का सभापति भूपबहादुर डाँगीको आथित्यमा बिहीबार बसेको बैठकले स्वर्गीय नेता खड्काको नामबाट हाललाई चोकको नामाकरण गर्ने र निकट भविष्यमा खड्काको सालिक स्थापना गर्ने निर्णय भएको त्रिपुर सभापति पाण्डेले बताएका छन् ।

Published : Friday, 2019 September 13, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया