कांग्रेसमाथि आक्रमण गर्नेहरू एमालेका अरिँगालहरू भएको खुलासा, कम्यनिस्ट विरुद्ध प्रदर्शन हुने

काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्लामा सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण भएको विरोधमा संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सभापतिहरूले शुक्रबार पत्रकार सम्मेलन गरेर तत्कालीन एमालेका उदण्डन कार्यकर्तालाई कारबाही गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले बाँकेको घटनालाई घटनाको रुपमा मात्रै नहेरी प्रवृत्तिका रुपमा लिनुपर्ने बताए । उनले प्रहरीले घटनालाई रोक्न र दोषीलाई कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

‘प्रहरीले जुन काम गर्नुपर्ने हो । त्यो गरिएन’, उनले भने, ‘कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरिरहँदा हाम्रा साथीहरूले संयमता अपनाएका कारण अप्रिय घटना हुन पाएन । प्रहरीले गर्नुपर्ने काम हाम्रा साथीहरूले कार्य गरेर शान्तिपूर्ण रुपमा काम गरेका छौँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बाँके पुगेर नेता तथा कार्यकर्ताहरूसँग भेट गरी कांग्रेसका कार्यकर्ताहरूको मनोबल बढाउने प्रवक्ता शर्माले बताएका छन् ।

‘तत्कालीन एमालेका उदण्ड कार्यकर्ताले आक्रमण गरेका छन् । ७० वर्षीय नेतृ एवम् सभापति किरण कोइरालाको हात भाँच्ने काम भएको छ’, उनले भने, ‘उदण्ड कार्यकर्ताको आक्रमणबाट हात भाँचिएको छ । आमामाथिको आक्रमणलाई गम्भीर रुपमा लिएर जागरण अभियानलाई अझै उत्साहका साथ अगाडि बढाउने छौँ ।’

बाँके जिल्ला कम्युनिस्टहरूको गढमा सयौँ युवा साथीहरू नेपाली कांग्रेसमा प्रवेश गर्न थालेको देखेपछि सैह्य नभएर सांघातिक आक्रमणमा उत्रिएको शर्माले बताए । उनले कांग्रेसका साथीहरूलाई आक्रमण गरिरहँदा त्यसले लोकतन्त्रमाथि नै असर पर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

‘बाँके जिल्लामा हिजो भदौ २६ गते भएको सांघातिक आक्रमणको घटनाको विवरण विज्ञप्ति मार्फत हामीले सार्वजनिक गरेका थियौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र दिने’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका हकमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने छौं ।’ ज्ञापन पत्र बिहान आठ बजे सिंहदरबारमा गृहमन्त्रीलाई बुझाइनेछ ।

नेपाली कांग्रेसले बाँकेमा शुक्रबार मध्यान्ह १२ बजेदेखि प्रदर्शन गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

नेपालगञ्जको वीपी चोकदेखि जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म कांग्रेसले प्रदर्शन गरेको छ ।

उनले सम्बन्धित प्रदेश सभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत साथीहरूको नेतृत्वमा प्रर्दशन पश्चात स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाएको जानकारी दिए ।

नेपाली कांग्रेसले शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम राखेको छ । धर्ना अपरान्ह तीन बजे हुनेछ । धर्ना कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका सभापतिहरूको नेतृत्वमा हुनेछ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, ललितपुरका सभापति मदनबहादुर अमात्य र काठमाडौंको सभापति सबुजकृष्ण बानियाँ रहेका थिए ।

Published : Friday, 2019 September 13, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया