तीन जना ‘अरिँगाल’ पक्राउ, सडकमा उत्रियो बाँके कांग्रेस

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको जागरण अभियानको कार्यक्रम तत्कालका लागि रोकेर सडक आन्दोलन शुरू गरेको छ ।

जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि विरोधमा नेपाली कांग्रेस बाँके सडकमा उत्रिएको हो ।

आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोइरालाको बायाँ हात भाँचिएको छ । अन्य थुप्रै नेता तथा कार्यकर्तालाई चोटपटक लागेको छ ।

कार्यक्रमलाई प्रमुख अतिथी एवम् केन्द्रीय प्रतिनिधी बिद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला नेकपाका स्थानीय नेता एवम् खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको थियो ।

सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, ‘लोके’ भन्ने लोकबहादुर शाही समेत व्यक्तिले ज्यानै लिने नियतले सामूहिक आक्रमण गरी सांघातिक आक्रमण गरेको कांग्रेसले उल्लेख गरेको छ ।

घटनाको बिरोध तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दैै बाँके कांग्रेसले आन्दोलन घोषणा गरेको छ । कांग्रेस जिल्ला सदस्य सुधान्सु कोइरालाका अनुसार शुक्रबार बिहान १० बजे पार्टी कार्यालयबाट विरोध प्रदर्शन हुनेछ ।

आक्रमणमा संलग्नविरुद्ध शुक्रबार प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइनेछ । कांग्रेसले उक्त घटनाबाट विचलित नहुन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।

घटनाबारे प्रहरी, प्रशासनलाई समयमै जानकारी गराउँदापनि मुकदर्शक बन्नुले सरकार र सत्तारुढ दल नेकपाले नियोजित रुपमा जनजागरण भाँड्न खोजेको प्रष्ट देखिएको कांग्रेसको ठहर छ ।

बाँके कांग्रेसले बिहीबार बेलुका नै स्थानीय प्रशासनलाई समेत ज्ञापन पत्र बुझाएर दोषीहरू उपर कडा कारबाही गर्न माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई बुझाइएको उक्त ज्ञापन पत्रमा दोषी उपर कारबाही नभएको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्नहरूमध्ये ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

बिहीबार मध्यराति करीव साढे १२ बजेतिर ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिएका छन् । घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका भनिएका अन्य व्यक्तिहरू भने अझै पक्राउ परेका छैनन् ।

Published : Friday, 2019 September 13, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया