बाँके काण्डपछि रिसाए खतिवडा, कम्युनिस्टहरू नसुध्रिए प्रतिकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको सत्ताको आडमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू ‘ध्रुबे हात्ती’ जस्तै अवस्थामा पुगेको बताएका छन् ।

हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको कार्यक्रमबाट आत्तालिएका नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसका नेता कार्यकर्तामाथि भौतिक आक्रमणमा उत्रिन थालेको भन्दै आक्रोश पोखे ।

युवा नेता खतिवडाले बिहीबार साँझ प्रेस नोट जारी गर्दै बाँके जिल्लाकी सभापति किरण कोइराला र अन्य नेता तथा कार्यकर्तामाथि नेकपाद्वारा भएको भौतिक आक्रमणको निन्दा एवम् भर्त्सना गरे ।

‘नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम गर्दै गर्दा आत्तिएका दुईतिहाइको कम्युनिस्ट पार्टीका कार्यकर्तालाई खपिनसक्नुको पीडा भएको छ’, उनले भनेका छन्, ‘कांग्रेसप्रति दिन प्रतिदिन बढ्दै गरेको जनसमर्थन र नेकपाप्रतिको वितृष्णाबाट आत्तिएका नेकपाका नेता कार्यकर्ताले कांग्रेसमाथि हमला गरेका हुन् ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले बाँके जिल्लामा बिहीबार दिउँसो भएको घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

‘भौतिक आक्रमणमा उत्रिएका नेकपाका दोषी नेता तथा कार्यकर्तालाई छिटोभन्दा छिटो कारबाही होस्’, नेता खतिवडाले भने, ‘अन्यथा नेकपाका अरिँगालहरूको ज्यादतिका विरुद्ध देशव्यापी रुपमा प्रतिकारमा उत्र नेपाली कांग्रेस बाध्य हुनेछ ।’

उनले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संवैधानिक अधिकारलाई कसैले पनि कुण्ठित गर्न नपाउने बताए ।

दुईतिहाइको बहुमतको उन्मादबाट नेकपा दिनदिनै निरंकुश र अहँकारी बन्दै गएको उनले बताएका छन् ।

नेकपाका नेता कार्यकर्ताको आक्रमणबाट बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । अन्य कार्यकर्ताहरू घाइते भएका छन् ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले गृहमन्त्रीकै भाई अपराधमा संलग्न रहेको भन्दै शान्ति सुरक्षाप्रति पनि चिन्ता जनाएका छन् । ‘गृहमन्त्रीकै भाई अपराधमा संलग्न हुन्छन्’, उनले भने, ‘कांग्रेसमाथि भौतिक आक्रमण हुनेलाई झन् के भन्ने ?’

Published : Thursday, 2019 September 12, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया