अत्तालिएका अरिँगालहरूद्वारा कांग्रेसका नेताहरूमाथि सांघातिक आक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालासहितका नेताहरूमाथि सांघातिक हमला गरेर अंगभंग बनाइदिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेसका नेता तथा कार्यकर्तामाथि सांघातिक हमला गर्ने नेकपाका नेता तथा कार्यकर्ताहरूलाई कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेसले बाँके जिल्लामा राष्ट्रिय जागरण अभियानका क्रममा भएको घटनाको भर्त्सना गरेको छ ।

जननायक वीपी कोइरालाको १०६औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहीबार बाँके जिल्लामा नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेसका जिल्ला सभापति किरण कोइरालासहितका नेतामाथि सांघातिक आक्रमण गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरूमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाली कांग्रेस बाँकेकी जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरू घाइते भएका छन् ।

नेकपाका ५०–६० को संख्यामा रहेका कार्यकर्ताहरूले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए ।

‘यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको जनाएको छ ।

‘बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरूका कार्यकर्ताहरू अतालिएका छन्’, नेपाली कांग्रेसले भनेको छ ।

‘सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटनाहरू पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ ।’

‘आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारीहरूलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

Published : Thursday, 2019 September 12, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया