विप्लवका ‘धुन्दुकारी’ छोरा प्रकाश पक्राउ

भरतपुर । चितवन प्रहरीले प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ ।

प्रकाशलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीलाई जबरजस्ती अगाडि सारेर प्रकाशले केहीदिनदेखि आन्दोलन चलाउँदै आएका छन् ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि पक्राउ गरिएको शर्माले बताएका छन् ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि प्रकाशसहितका विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशले सोही चितवन मेडिकल कलेजबाट एमबीबीएसको पढाइ निःशुल्क पूरा गरेका थिए ।

प्रकाशले आफ्नै बुबाको पार्टी नेकपाको नीति विपरितका कार्य गर्दै आएको आरोप पनि छ ।

त्यति मात्रै होइन प्रकाशले मेडिकल सञ्चालकलाई भौतिक कारबाही गर्ने र मेडिकल कलेजकै गेटमा ल्याएर झुण्ड्याउनेसम्मको चेतावनी सार्वजनिक रुपमा दिइसकेका छन् ।

हर्कत र गतिविधिलाई नजिकबाट नियाली रहेको चितवन प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ ।

Published : Wednesday, 2019 September 11, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया