भक्तपुरको उपनिर्वाचन जित्ने महामन्त्रीको घोषणा, शुरू भयो अभियान (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबाट पार्टीलाई संगठन निर्माणमा ठूलो सहयोग मिल्ने बताएका छन् ।

हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमलाई मंगलबार भक्तपुरमा उद्घाटन गर्दै महामन्त्री खड्काले कम्युनिस्टहरूको निरंकुशतासँग लड्न जागरण अभियानले सहयोग गर्ने बताए । उनले सरकारका खराब कुरालाई जनता समक्ष लगेर भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

सरकारबाट जनताले राहतभन्दा पनि आहत पाएको भन्दै महामन्त्री खड्काले देश बनाउन नेपाली कांग्रेस आउनुपर्ने बताए । उनले संविधानले दिएका अधिकारलाई पनि वर्तमान कम्युनिस्ट सरकारले खोस्न थालेको आरोप लगाए ।

नेपाली कांग्रेसले शुरु गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह थपिएको महामन्त्री खड्काले बताएका छन् ।

खड्काले आउँदै गरेको भक्तपुरको उपनिर्वाचनमा पनि जागरण अभियानले सहयोग गर्ने बताए । उनले उपनिर्वाचनलाई जसरी पनि नेपाली कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

‘तपाई युवा तरुण र पार्टीका सबै साथीहरू एकजुट भएर लाग्यौँ भने उपनिर्वाचन जित्छौँ’, उनले भने, ‘आजैदेखि निर्वाचन केन्द्रित कार्यक्रम शुरू गरौँ ।’

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राष्ट्रिय जागरण अभियानलाई सफल बनाउने दायित्व सबैको रहेको बताए । उनले अभियानले भक्तपुरमा आउँदै गरेको उपनिर्वाचनलाई फाइदा हुने बताएका छन् ।

महामन्त्री खड्काले ‘जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ विषय गोष्ठिको उद्घाटन गर्नु अगाडि भक्तपुर क्याम्पसको प्राङ्गणमा वृक्षारोपण गरेका थिए ।

वीपी कोइरालाको १०६औँ जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेसले देशैभरि दोस्रो चरणका जागरण अभियान चलाएको छ । अभियानका क्रममा कांग्रेसले वृक्षारोपण गरेर समाजमा सकारात्मक सन्देश दिएको छ ।

महामन्त्री खड्काले प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस भक्तपुरका पार्टी पूर्वसभापति ९४ वर्षीय रामबहादुर ठकुरीसँग भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा पुगेर महामन्त्री खड्काले ठकुरीसँग भलाकुसारी गरेका हुन् ।

नेपाली कांग्रेस भक्तपुरले मंगलबारदेखि शुरू गरेको दोस्रो चरणका जागरण अभियानमा उल्लेख नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए । जागरण अभियानको उद्घाटन कार्यक्रममा युवा तरुणहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Wednesday, 2019 September 11, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया