हिन्दू राष्ट्रको कुरा उठाउन पाइन्छः शेरबहादुर देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरू खराब नरहेको भन्दै खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिष्ट सरकार खराब भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘सबै कम्युनिष्ट पार्टीहरू खराब हुँदैनन् । अहिलेको सरकार भने बदमासीपूर्ण ढंगले चलेकोले खराब छ ।’

कम्युनिस्ट सरकार विधिविधानपूर्ण ढंगले नचलेको बरु पत्रकारलाई जेल हाल्नेसम्मको कानून ल्याउने, मानव अधिकारको क्षेत्र तहसनहस गर्ने र व्यक्तिगत स्वतन्त्रता नै संकटमा पर्ने किसिमको कानून ल्याउन उद्दत रहेको उनले बताएका छन् ।

देउवाले ओली सरकार प्रजातान्त्रिक ढंगले सञ्चालन नभएको बताए । उनले मूल्यमान्यतालाई विचलित बनाउन खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।

‘सरकारका गलत कामविरुद्ध हामी चुप लागेर बस्दैनौं’, उनले भने, ‘कम्युनिस्ट सरकारलाई सच्चिन सुझाव छ ।’

देउवाले कांग्रेसभित्र एकता रहेको बताउँदै पार्टीभित्रको एकता देखाउन केन्द्रीय समितिको पूर्ण बैठकमा प्रेसलाई पनि राखिदिने बताएका छन् । ‘बैठकमै प्रेसलाई राखिदिन्छु । अनि देख्नुहुनेछ एकता छ कि छैन’, उनले भने ।

देउवाले कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै जागरण अभियान देशभर सकारात्मक ढंगले अघि बढ्ने बताए ।

सभापति देउवाले कांग्रेसभित्र हिन्दू राष्ट्रको विषयमा नेताले उठाउने गरेको विषयमा यसलाई रोक्न नसकिने बताउँदै भने, ‘धेरै साथीहरुले हिन्दू राष्ट्रको कुरा उठाउनु हुन्छ । यो भन्न पाइन्छ । कुरा उठाउन पनि पाइन्छ ।’

Published : Tuesday, 2019 September 10, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया