धोकेबाज कम्युनिस्टहरूलाई कांग्रेसले तह लगाउँछः युवा नेता महर्जन

बाह्रबीसे । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधि मीनकृष्ण महर्जनले धोकेबाज कम्युनिस्टहरूले जनतालाई दुःख दिएर हैरान बनाएको बताएका छन् ।

जनतालाई धोका दिएर समस्यामा पार्ने कम्युनिस्टहरूलाई नेपाली कांग्रेसले जारण अभियानमार्फत ठीक ठाउँमा ल्याउने चेतावनी दिए ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’मा मंगलबार आयोजित ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’को उद्घाटन कार्यक्रमलाई बाह्रबीसेमा सम्बोधन गर्दै युवा नेता महर्जनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनता समक्ष निर्वाचनमा गरेको सबै प्रतिवद्धता भुलेको बताए । ‘यो सरकार जनताका लागि कुनै कामको भएन’, उनले भने, ‘कम्युनिस्टहरूबाट जनताले राहत पाउनेभन्दा पनि आहत पाएका छन् ।’

वर्तमान कम्युनिस्ट सरकार काण्डै काण्डमा परेको उनले आरोप लगाए । ‘काण्डै काण्डले यो सरकारले पुरस्कार पाएर बनेको हो’, महर्जनले भनेका छन्, ‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई भ्रष्टाचारीले चलाएको छ । जनताले राहत हुने गरेर कुनै पनि काम भएको छैन ।’

वाइडबडी, ३३ किलो सुन काण्ड, बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने, निर्मला पन्तका दोषीलगायतलाई वर्तमान कम्युनिस्ट सरकारले संरक्षण गरेको भन्दै युवा नेता महर्जनले नेपाली जनता समक्ष नेपाली कांग्रेसले दोस्रो चरणको अभियानका क्रममा भण्डाफोर गर्ने चेतावनी दिए ।

उनले नेपाली कांग्रेसभित्रको मतमतान्तरलाई भुलेर संगठन बनाउने विषयमा एकजुट हुनुपर्ने बताए । ‘कांग्रेस अहिले फुट्ने होइन । जुट्ने बेला आएको छ’, युवा नेता महर्जनले ‘कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर कम्युनिस्टहरूलाई पत्तासाफ गर्नुपर्छ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको सरकारको कडारुपमा आलोचना गरेका नेपाली कांग्रेसका युवा नेता महर्जनले गुठी विधेयकका कारण झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई काठमाडौं उपत्यकाका जनताले लखेट्ने अवस्था आएको स्मरण गरे ।

‘गुठी विधेयक फिर्ता नलिएको भए दुईतिहाइको कम्युनिस्ट सरकारलाई काठमाडौं उपत्यकाका सर्वसाधारण नेवारहरूले लखेट्ने थिए’, उनले भने, ‘म पाटनको नेवार हुँ । प्रधानमन्त्रीजीले नेवारकी छोरी विवाह गर्नुभएको छ । उहाँलाई नेवारहरूले आन्दोलनका बेला भिनाजु बेइमान भयो भनेर आलोचना गरेका थिए ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेस मिल्ने हो भने कुनै पनि ताकतले हराउन नसक्ने बताए ।

‘कम्युनिस्टहरूका कारण देश संकटमा परेको छ । कांग्रेसले लोकतन्त्र जोगाउनुपर्छ’, उनले भने, ‘सिन्धुपाल्चोकमा कम्युनिस्टहरूको बाहुल्य रहेको छ । तर, नेपाली कांग्रेस एकढिक्का हुने हो भने कुनै पनि ताकतले हराउन सक्दैन ।’

नेता बस्नेतले कम्युनिस्टहरूलाई जनताले नपत्याउँने बताए । अबको निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले कुनैपनि हालतमा जिताउने बताए ।

सिन्धुपाल्चोक जिल्लाको जिरे भन्ने स्थानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत, केन्द्रीय प्रतिनिधि एवम् युवा नेता मीनकृष्ण महर्जनसहितका नेता तथा कार्यकर्ताले १०६ वटा बिरुवा लगाएका थिए ।

८–९ वर्ष अगाडि जिरेमा पहिरो जाँदा भोटेकोशी थुनिएको थियो भने पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सोही स्थानमा नेपाली कांग्रेसले वृक्षारोपण गरेर मृत्यु भएका स्थानीयहरूप्रति श्रद्धाञ्जलि दिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू लामाकार्गो तामाङ, बालकृष्ण बस्नेत, प्रेमध्वज लामा, हरिशरण श्रेष्ठलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 September 10, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया