कुखुरामा कर लगाएर एनसेललाई छुट दे कम्युनिस्ट सरकारः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गरिव जनतासँग कुखुरा, गाई, भैँसीमा चर्को कर उठाउने दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले एनसेलको पुँजीगत लाभकर असुल गर्न नसकेको भन्दै आक्रोश जनाएका छन् ।

गृहजिल्ला ओखलढुंगामा मंगलबार दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानसहित आयोजित विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्ने क्रममा खतिवडाले एनसेलसँग पुँजीगत लाभकर असुल नगरेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरे ।

खतिवडाले भनेका छन्, ‘कर निर्धारण गर्ने कुरा अर्थमन्त्रालय अन्तर्गतका कर कार्यालयको हो । कानूनमै त्यो कुरा उल्लेख छ । कर निर्धारण गर्ने काम अर्थमन्त्रालय र संसदको हो ।’

‘संसदले बजेट भाषणबाट कर निर्धारण गर्छ । त्यो कार्यान्वयन भयो भएन हेर्ने काममात्र अदालतको हो’, उनले भनेका छन्, ‘कर नै नतिर, असुली नगर भन्ने हो कि होइन अदालतले स्पष्ट पार्नुपर्छ । अर्को कुरा, अरबौ अरब तिर्ने एनसेल जस्तालाई उन्मुक्ति दिने, गाई, भैंसी र कुखुरा बेच्नेलाई कर लाउने ?’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चर्चामा आउनका लागि न्यायालय शुद्धीकरण गर्छु भनेको आरोप लगाए ।

‘भ्रष्टाचार नियन्त्रण गर्ने भनेर एनसेलबाट लाभकर असुली गर्न ठूला करदताला कार्यालयलाई आफ्नै नेतृत्वको ५ सदस्यीय इजालसबाट आदेश दिए’, उनले भनेका छन्, ‘जुन आदेशपछि ठूला करदाताले कर निर्धारण गरेको हो । तर ठूला करदाताले कर निर्धारण गरेपछि आफ्नै नेतृत्वमा दिएको आदेश विरुद्ध रिट दर्ता गरियो ।’

‘दरपीठ हुनुपर्ने रिट दर्ता गरिएपछि नै एनसेललाई उन्मुक्ति दिन खोजिएको आशंका गरिएको थियो’, उनले भने, ‘जुन आशंका भदौ ९ मा सर्वोच्चले लाभकर नतिर्न आदेश दिएपछि सत्य सावित भयो ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘प्रधानन्यायाधीशले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्छुु भनेको कुरा सस्तो लोकप्रियताका लागि रहेछ भन्ने कुरा दरपीठ हुनुपर्ने रिट दर्ता गरी लाभकर नतिर्न आदेश दिएपछि पुष्टि भएको छ ।’

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा कम्युनिस्ट सरकारको अनियमितता र भ्रष्टाचारविरुद्ध भण्डाफोर गरिने बताए । उनले नेपाली कांग्रेसले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतामाथि गरेको थिचोमिचो नसहने बताएका छन् ।

यसैबीच, ओखलढुंगामा राष्ट्रिय जागरण अभियानका क्रममा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाका साथै डा.गोविन्द पोखरेलसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2019 September 10, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया