भारतको सहयोगले नेपाललाई फाइदै-फाइदा, ‘तेल चोरहरू’लाई तनाब

काठमाडौं । भारत सरकारले ५ सय ६० करोड नेपाली रुपियाँ खर्च गरेर बनाइदिएको ‘मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन’ले करोडौँ रुपियाँ बचत हुने भएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच सडकमै वार्षिक रुपमा करोडौँ रुपियाँको तेल चोरी हुने गरेको थियो । भारतले पाइपलाइन निःशुल्क रुपमा बनाइदिएपछि त्यो पैसा बचत हुने भएको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबारदेखि भारतबाट अमलेखगञ्ज डिपोमा तेल ल्याउन सजिलो भएको छ । शुरुवाती दिनमा डिजेल ल्याइनेछ । क्रमशः पेट्रोल र मट्टितेल पनि ल्याइनेछ ।

भारतले बनाइदिएको पाइपलाइनबाट झण्डै ३ करोड नेपाली जनतालाई लाभ हुनेछ । पाइपलाइनले तेल चोरी गरेर खान पल्किएका ट्याङ्कर मालिक, चालक र नेपाल आयल निगमका कर्मचारीहरूको थोरै भएपनि खेतपाती बन्द हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय र निर्देशनमा समय अगावै काम पूरा भएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनले नेपालको अर्थतन्त्रलाई पनि थोरै भएपनि राहत दिनेछ ।

भारतले बनाइदिएको यो पाइपलाइनले नेपाली जनताको खल्तीमा बचत हुने निश्चित छ ।

मंगलबार मात्रै डिजल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २–२ रुपियाँ घटाइएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा आउने दिने अझ धेरै घटने निश्चित छ । पाइपलाइनको निर्माणले अबको दुई वर्षपछि एक नेपालीले मासिक कम्तीमा पनि ५ सयदेखि १ हजार रुपियाँसम्म बचत हुने अनुमान जानकारहरूले गरेका छन् ।

साथै नेपाल सरकारलाई पनि यसले वार्षिक रुपमा अर्वौं रुपियाँको बचत हुने निश्चित छ ।

Published : Tuesday, 2019 September 10, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया