भारतले बनाइदियो पाइपलाइन, ओली–मोदीद्वारा उद्घाटन

काठमाडौं । चीनका विदेशमन्त्री नेपाल भ्रमणमा रहेका बेला नेपाल–भारतबीच अमलेखगञ्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रुपमा पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका हुन् ।

भिडियो कन्फरेन्सिङमार्फत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा परियोजनाको उद्घाटन गरिएको थियो ।

इलेक्ट्रिक स्विच थिचेर उद्घाटन गरेसँगै पाइपमार्फत अमलेखगञ्ज डिपोमा डिजेल आउन शुरू भएको छ ।

०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको छ ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ ।

शुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपियाँ खर्च गर्ने सम्झौता भएपनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । पाइपलाइनमा भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट शुरूमा डिजल मात्रै आउनेछ ।

पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घण्टामा ४८ लाख लिटल डिजल आउनेछ ।

अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदीप यादवले जानकारी दिएका छन् ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।

सुरक्षाका सबै उपकरण पनि जडान भैसकेका छन् । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ ।

Published : Tuesday, 2019 September 10, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया