भ्रष्ट सरकारको भण्डाफोर नै हाे गर्ने, फूलमालाले स्वागत हुँदैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताए ।

‘इतिहाँसकै यति बलियो र शक्तिशाली कम्युनिस्ट सरकारले काम गर्न सकेन । जनताले धेरै अपेक्षा राखेका थिए’, उनले भने, ‘प्रधानमन्त्रीजीले अहिले काम नगर्ने हो भने कहिले गर्नु हुन्छ ? उहाँबाट जनताका कुनै पनि काम हुन सकेन ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले प्रधानमन्त्री पूर्ण रुपमा स्वस्थ्य भएर दैनिक १८ घण्टा काम गरेको हेर्न आफू आतुर रहेको बताए । ‘कांग्रेसले प्रधानमन्त्रीको स्वास्थ्यको कहिल्यै पनि विरोध गरेको छैन । विरोध होइन स्वास्थ्य लाभको कामना गरेका छौं’, उनले भने, ‘प्रधानमन्त्रीजी पूर्णरुपमा स्वस्थ्य भई दैनिक १८ घण्टा काम गर्ने हुनुहोस् । हाम्रो शुभकामना छ ।’

प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दै गर्दा खतिवडाले सिंगापुरको खर्च कहाँबाट भयो हो त्यसको जानकारी दिनुपर्ने माग राखे । ‘प्रधानमन्त्रीज्यूले राज्यको ढुकुटीबाट उपचार खर्च लिन्न भन्नुभयो । राम्रो निर्णय गर्नुभयो’, उनले भने, ‘सिंगापुरमा उपचार खर्च कति भयो ? पैसा कहाँबाट आयो भन्नुपर्छ । उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीको हरेक कुरा जनतालाई भन्नुपर्छ । पारदर्शी बन्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्ट सरकार गलत ठाउँमा जान थालेको बताएका छन् । ‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकार गलत ठाउँमा जान थालेपछि नेपाली कांग्रेसले विरोध गरेर सहि ठाउँमा ल्याउन खोजेको छ । संसदमा खबरदारी गरेको छ । दोस्रो चरणको जागरण अभियानमा गलत कुराको भण्डाफोर गर्नेछ’, उनले भने, ‘कांग्रेसले संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार विरोध गर्छ । विगतमा कम्युनिस्टहरूले गरेर जस्तो संसदमा तोडफोड गर्ने, अर्थमन्त्रीलाई लछारपछार गर्ने, अराजकता मच्चाउने जस्ता काम कांग्रेसले गरेको छैन । गर्दैन पनि ।’

सरकारलाई भ्रष्टको संज्ञा दिएका खतिवडाले भने, ‘कांग्रेसले भ्रष्ट सरकारको जनता समक्ष भण्डाफोर गर्छ । फूलमालाले स्वागत गर्दैन । अब कांग्रेसको विरोधको सामना गर्न तयार भएर बसे हुन्छ ।’

खतिवडाले वर्तमान कम्युनिस्ट सरकारले मुलुकमा भ्रष्टाचार बढाएको बताए । ‘देशमा यति बलियो सरकार हुँदा पनि जनताले सरकार भएको अनुभूति गरेका छैनन् । सरकार भए जस्तो नै भएन’, उनले भने, ‘सरकारले उल्टै जनतालाई नङग्याउने काम गरेको छ । जताततै करले जनताको ढाढ सेकिएको छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले सरकारले स्वतन्त्र प्रेसलाई आफ्नो अधिनमा राख्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रेसलाई आफ्नो अधिनमा राख्नकै लागि मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै उनले विरोध जनाए ।

‘मिडिया काउन्सिल विधेयक ल्याएपछि कांग्रेसले विरोध गरेर सरकारलाई त्यो विधेयक सच्चाउन बाध्य बनायो’, उनले भने, ‘सरकारले संविधानभित्र बसेर स्वतन्त्र प्रेसलाई अंकुश लगाउन खोजेको छ । आफ्नो विरोध नगर्न दवाव दिँदै छ ।’

Published : Saturday, 2019 September 7, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया