देउवा–पौडेल–सिटौला–कोइरालाले दिए एकताको सन्देश, उत्सवमय बन्यो भक्तपुर (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि प्रदेश–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा शुरु भएको छ ।

भब्य समारोहका बीच कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको आडमा कम्युनिस्ट सरकार निरंकुश बन्दै गएको आराप लगाए । उनले कम्युनिस्टहरूलाई आफ्नो औकातमा रहनु चेतावनी दिएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए । प्रधानमन्त्री ओलीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको बताए ।

देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको सभापति देउवाको भनाइ थियो ।

दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानलाई मिच्दै जनताका हकअधिकार कुण्ठित गर्दै गएको भन्दै देउवाले संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताए ।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसका बिरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् ।

सभापति देउवाले अब नेपाली कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै अन्तरघातीलाई पार्टीले कारवाही गर्ने धम्की दिएका छन् । पार्टी एक हुन जरुरी रहेको बताउँदै उनले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको कम्युनिस्ट सरकारले कांग्रेसको नेतृतवमा बनेको संविधानभित्र गलत रुपमा खेलेर लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताए ।

उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरेका छन् । उनले पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर कांग्रेसलाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

वर्तमान कम्युनिस्ट सरकार चौतर्फी रुपमा असफल भएको पौडेलले बताए । उनले भने, ‘प्रचण्ड आफैले भन्नुभएको छ – काम गर्न सकेनौँ । प्रतिक्रियावादीले भन्टो उठाएका कारण काम गर्न सकेनौँ । यो भन्नु भनेको कम्युनिस्टहरूलाई दुईतिहाइको भारि तनावपूर्ण बनेको छ । अरुलाई आरोप लगाएर भाग्न खोजिएको छ ।’

कम्युनिस्टहरूले देश चलाउन सक्दैनन् भन्ने कुराको प्रमाणित भएको भन्दै वरिष्ठ नेता पौडेलले देशमा भ्रष्टाचार बढेको बताए । उनले भने, ‘कांग्रेसले सुरुङ खनेर ठीक्क बनाइदिएको मेलम्चीको पानी पनि ल्याउन सकेनन् । यो दुईतिहाइको बुहमत कम्युनिस्टहरूलाई भ्रष्टाचारलाई ढाकछोप गर्न सजिलो भएको छ ।’

उनले वाइडबडी, ३३ किलो सुनकाण्ड, बालुवाटारको सरकारी जग्गा कब्जा लगायतका काण्डमा कम्युनिस्टहरू चुर्लुम्म डुबेको बताए ।

नेता पौडेलले अख्तियारलाई कम्युनिस्ट सरकारले धम्काएर राखेको भन्दै सर्वोच्च अदालतलाई छडी देखाएर दुईतिहाइको बुहमतको त्रर्सा देखाएको बताए ।

‘दुई वर्ष भइसक्दा पनि कम्युनिस्ट सरकारले एउटा पनि उद्योग खोल्न सकेको छैन । रोजगारीका नाममा राज्यको ढुकुटी कार्यकर्तालाई बाँडेर नयाँ शोषक वर्ष तयार पारिएको छ’, उनले भने, ‘भ्रष्टाचार, महँगीले देश र जनता आक्रान्त भएको छ । चितवन र माइतीघर मण्डालको प्रदर्शन यही सरकारको वितृष्णाको उदाहरण हो ।’ जनताको आक्रोशलाई नेपाली कांग्रेसले सहि दिशामा प्रयोग गर्नुपर्ने उनले बताएका छन् ।

नेता पौडेलले सभामुख र उपसभामुख एउटै दलको बनाएर कम्युनिस्ट सरकारले संविधानको उल्लंघन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उपसभापति एवम् अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले आफ्नै पीडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए । ‘केपी ओली सरकारले १७–१८ महिना भयो सपथ लिएको । सपथ लिएको पहिलो दिनदेखि संविधान मिच्ने काम भएको छ’, निधिले भने, ‘संसदमा सपथ नै नगरी ओलीजी प्रधानमन्त्री बन्नुभयो । त्यही बाट सुरु भएको थियो संविधान उल्लंघन गर्ने कार्य ।’

आस्थाको आधारमा कर्मचारीमाथि दुःख दिने काम भएको बताएका नेपाली कांग्रेसका उपसभापति निधिले प्रेसलाई आफ्नो अधिनमा राखेर तर्साउन कार्य गरिरहेको बताए । उनले भने, ‘संविधानभित्र रहेर दुईतिहाइको कम्युनिस्ट सरकारले धमाधम संविधानविरुद्धका विधेयकहरूलाई ल्याइरहेको छ ।’

सभापति देउवाले निर्वाचनका बेला कम्युनिस्टले जित्यो भने रुन पनि पाइँदैन भनेर दिएको अभिव्यक्तिलाई त्यस बेला सबैले खिल्ली उडाएको बताएका निधिले भने, ‘अहिले आएर सबै मिडियाले प्रेस स्वतन्त्रताको पक्षमा सम्पादकीय लेख्न थालेका छन् ।’

संसदमा एउटै पार्टीको सभामुख र उपसभामुख बनाएर नेकपाले संविधानको उल्लंघन गरेको उनले आरोप लगाए । संविधानलाई टेकेर ओली सरकारले सत्ता कब्जा गर्न खोजेको निधिले आरोप लगाएका छन् । उनले भने, ‘सिंगापुरमा बसेर मन्त्रिपरिषद बैठक राख्ने सत्ताकब्जाकै योजना हो । कानून समेत संशोधन गरिएको छ ।’

महामन्त्री डा.शशांक कोइरालाले कम्युनिस्ट सरकार जनताका स्वतन्त्र संस्थाहरूको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाए । उनले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा बताए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले बिगतका कमजोरी सच्च्याएर पार्टीमा सन्तुलन कायम गरेर राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानलाई कुल्चिएर दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानले जनतालाई दिएको अधिकार खोस्ने कार्य भइरहेको बताए । संविधानले कर्मचारीहरूलाई दिएको ट्रेडयुनियनको अधिकार कम्युनिस्ट सरकारले खोस्न थालेको उनले बताए ।

दुईतिहाइको बहुमतको बलमा कम्युनिस्टहरूले संविधानभित्र बसेर बैधानिक रुपमा एकलौटी ढंगले सत्ता कब्जामा लागेको भन्दै नेता सिटौलाले राज्यका संवैधानिक अंगलाई तर्साउनुका साथै न्यायालाई डण्डा देखाएर डर देखाएको बताए ।

सरकारविरुद्ध सदन र सडकबाट मात्रै खबरदारी गरेर नहुने बताएका नेता सिटौलाले संगठन बनाएर कम्युनिस्टविरुद्ध लड्ने बेला आएको बताएका छन् । उनले पार्टीभित्र बृहत एकताको खाँचो पनि औल्याएका छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले पार्टी एक हुनु जरुरी रहेको बताइन् । उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार, महँगी र करको भार मात्र जनतामा थपेको बताइन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पुरुषोत्तम दाहालले कांग्रेसलाई सुदृढ बनउने र नयाँ पुस्तालाई पार्टीमा कसरी आकर्षित गर्ने बारेमा प्रशिक्षण केन्द्रित हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू मोहन बस्नेत, बलबहादुर केसी, नवीन्द्रराज जोशी, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतका साथै कांग्रसका एक दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा नेताहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा प्रदेश ३ का १३ जिल्लामध्ये सात जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका २ सय ८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाका अनुसार बाँकी प्रदेश ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि पछि मकवानपुरमा प्रशिक्षण दिइनेछ ।

प्रदेश नं. ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिनेछ ।

नेपाली कांग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको सुरक्षा र स्वयं सेवकको काम नेपाल तरुण दल भक्तपुरले गरेको छ । त्यसको नेतृत्व तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले लिएका थिए ।

सभापति देउवालाई तरुण युवाहरूले झण्डै एक किलो मिटर नारावाजी र झाँकीसहित नगरपरिक्रमासहित कार्यक्रमस्थल पुर्‍याएका थिए ।

 

 

Published : Friday, 2019 September 6, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया