मान्छे थोरै देखेपछि रिसाए दुईतिहाइको सरकारका मन्त्री

जनकपुर । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नै गृहजिल्लामा कार्यक्रममा मान्छे थोरै भएको भन्दै सम्बोधन नै नगरी फर्किएका छन् ।

मन्त्री महासेठ धार्मिक कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुरधाम आएका थिए ।

गणेश युवा कमिटीको अगुवाईमा नवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन उनी आएका हुन् ।

मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भएपनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् ।

दर्शक कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरिएको भएपनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको दाबी गरेका छन् ।

आयोजक सञ्जयकुमार साहले गर्मी भएका कारण कार्यक्रम रद्ध गरिएको जानकारी दिए ।

स्रोतका अनुसार कार्यक्रममा मान्छे थोरै भएको भन्दै मन्त्री महासेठ आयोजकहरूसँग रिसाएका थिए ।

रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँसव १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेकको उपस्थिति अति न्यून थिए ।

मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिए ।

महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका थिए ।

Published : Tuesday, 2019 September 3, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया