गगनको टिप्पणीले कांग्रेसको बैठकमा हलचल, सहमहामन्त्रीको प्रस्ताव ‘हावादारी’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सह–महामन्त्री डा. प्रकाशशरण महतको राजनीतिक प्रस्तावको आलोचना गरेका छन् ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले डा.महतको राजनीतिक प्रतिवेदन ‘हावादारी’ रहेको आरोप लगाए ।

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान, परिवर्तनका मुद्दा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा अपनत्व लिन नसकेको र सरकारसँग निराश भएका जनतालाई थप निराश बनाउने कुरा दस्तावेजमा लेखिएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

केन्द्रीय सदस्य गगन थापाले सहमहामन्त्री डा.महतको राजनीतिक प्रस्ताव बदल्न सुझाव दिएको स्रोतले जनाएको छ ।

‘प्रतिगामीहरू सल्बलाए भनेर सरकारबाट निराश जनतालाई निराशा थप्नुहुँदैन’, थापाले भनेका छन्, ‘सरकारले गर्न नसकेको कुरा कांग्रेसले गर्छ भन्ने विश्वास जनतालाई दिलाउने गरी कांग्रेस आउनुपर्छ ।’

‘संविधान संशोधन र संविधान कार्यान्वयन कांग्रेसले गराउँछ’, उनले भनेका छन्, ‘संविधान विरोधी गतिविधि हुन दिन्नौं भन्ने स्पिरिट प्रस्तावमा देखिएन । यसलाई पुनर्लेखन गर्नुपर्छ ।’

नेता थापाले नेपाली कांग्रेसको महासमिति बैठक र जागरण अभियानले पार्टी आन्तरिक रुपमा तंग्रिए पनि आम जनतासँग भने पार्टी पुग्न नसकेको बताएका छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक प्रस्तावले कांग्रेस चल्न नसक्ने बताएका छन् ।

डेढ वर्षमै प्रधानमन्त्री केपी ओलीको फिल्म असफल भइसकेको भन्दै उनले पार्टीको अहिलेको नेतृत्वको फिल्म पनि नचल्ने बताए ।

केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले नेपाली कांग्रेसको राजनीतिक दस्तावेजलाई सत्तारुढ दल र अन्तर्राष्ट्रिय समुदायले हेरेको बताए ।

उनले राजनीतिक प्रस्ताव जुन रुपमा आउनुपर्ने थियो त्यो रुपमा आउन नसकेको बताए । राजनीतिक प्रस्तावलाई अझ सशक्त बनाउन आङदम्बेले सुझाव दिए ।

बैठकमा केन्द्रीय सदस्य प्रदीप गिरी, महेश आचार्य, डा.मीनेन्द्र रिजाल, रमेश रिजाल, गगन थापा, चन्द्र भण्डारी, भीष्मराज आङदम्बे लगायतले धारणा राखेका थिए । अर्को बैठक मंगलबार बस्नेछ ।

Published : Sunday, 2019 September 1, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया