कांग्रेस बनाउन डा.डिला संग्रौलाले दिइन् मूलमन्त्र

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी मंसिरमा हुन गइरहेको उपनिर्वाचनले पार्टीको भविष्य निर्धारण गर्ने बताएकी छिन् ।

ललितपुरको सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संग्रौलाले उपनिर्वाचनलाई जनमत संग्रहका रुपमा लिँदै सम्पूर्ण सांगठनिक निकायहरू प्रयोग गरेर तयारीमा जुट्नुपर्ने बताइन् ।

उपनिर्वाचन कांग्रेसका लागि जसरी पनि जित्न जरुरी रहेको भन्दै जितका लागि पार्टीमा एकताको खाँचो पनि औंल्याएकी छन् ।

‘आगामी मंसिरमा हुन गइरहेको उपनिर्वाचनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्दछ’, उनले भनिन्, ‘यसलाई जनमत संग्रहको रुपमा लिदै सम्पूर्ण आफना सांगठनिक निकायलाई प्रयोग गरी अहिले देखि नै उपनिर्वाचनको तयारीमा जुट्नु पर्दछ ।’

उनले भनिन्, ‘यो निर्वाचन कांग्रेसले जित्न जरुरी छ । यसका लागि एकताको खाचो छ ।’

‘वर्तमान केपी ओली सरकारले नेतृत्व सम्हालेको करीव १८ महिना पूरा गर्दा पनि नेपाली जनतामा आशा र भरोसा जगाउन सकेको देखिदैन’, उनले भनिन्, ‘सरकारका प्राथमिकता, सुशासन, शान्ति, समृद्धि र विकास थिए । यी सबै कुरामा सरकार पूर्णअसफल भएको छ ।’

उनले भनिन्, ‘संविधानको उलंघन एवं लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन गर्दै सरकार अधिनायकवादी शैलीले अगाडि बढी रहेको छ ।’

‘संस्थागत भ्रष्टाचार, महंगी, कर, हिंसा, महिलाई जबरजस्ती गर्ने र जताततै राजनीतिकरण गर्दै राज्यलाई ठेकेदारहरूले कब्जामा लिएका छन्’, कांग्रेस नेतृ संग्रौलाले भनिन्, ‘मुलुकको सवै क्षेत्रमा चरम रुपमा कार्टेलिङ, सिण्डिगेड, न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्न पुगेको छ । अवसरै अवसरको भव्यद्वारमा उभिएको ओली सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दुःखी नेपालीमा रुपान्तरण भएको छ ।’

‘राज्यको सवै क्षेत्र अस्तव्यस्त छ । उत्पादकत्व क्षेत्र गतिहिन अवस्थामा छ । नयाँ प्रविधिको क्षेत्र जलश्रोत, पर्यटन तथा उद्योग धन्दामा खासै उत्साहजनक प्रगति छैन’, उनले भनिन्, ‘अर्थतन्त्र निरासाजनक स्थितिमा छ । नेपालको परराष्ट्र नीति कम्युनिस्टको विचारधाराको पक्ष पोषणबाट सञ्चालित छ ।’

उनले असंलग्न परराष्ट्र नीति भनिएपनि सरकार असंवेदनशील देखिएको बताएकी छिन् । ‘जनताको जनसवाल, जनजीविका र जनसरोकारको सवालमा सरकार उदाशीन छ’, उनले भनिन् ।

‘वर्तमान सरकार काण्डैकाण्डमा मुछिएको छ । वाइडवडी काण्ड, सुनकाण्ड, चिनीकाण्ड, वालुवाटार जग्गा खरिदकाण्ड, मेलम्ची काण्ड, बुढीगण्डकी जलविद्युत परियोजना जस्ता भष्टचार काण्डको भण्डाफोर गर्न सात वटै प्रदेशमा भ्रष्टाचार विरोधी सभा सञ्चालन गरिनु पर्दछ’, कांग्रेस नेतृ संग्रौलाले भनेकी छिन् ।

‘वर्तमान सरकार करीव दुई तिहाइको बहुमतमा छ । सरकारमा दम्भ उत्पन्न भई राज्यका विभिन्न निकाय र संस्थाहरूमा चरम राजनीतिकरण भएको छ’, उनले भनिन्, ‘राज्यको श्रोत, साधन पार्टीका लागि प्रयोग हुने हल्ला मात्र गर्ने काम नगर्ने परिपार्टीलाई दुरुत्साहित गरी सरकारलाई जिम्मेवार बनाउन छाया सरकारको आवश्यकता पर्दछ ।’

कांग्रेस नेतृ संग्रौलाले भनिन्, ‘पार्टीभित्र सहमति, सहकार्य र एकता – पार्टीभित्रका नेता एवं कार्यकर्ताबीच एकता, विश्वास, सहकार्य र सहमतिको आवश्यकता छ । यसको लागि पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादी चरित्र गुटगत राजनीति र ६०–४० को भागवण्डा अन्त्य गरिनुपर्छ । त्यसैले सहमति, सहकार्य र एकता कांग्रेसको मूलमन्त्र बनाउनु पर्दछ ।’

‘नेपाली कांग्रेसको मूल प्रतिस्पर्धी पार्टी नेकपा भएकाले यससँग कहिले पनि सहकार्य नगर्ने नीति लिँदै विचार, सिद्धान्त मिल्ने अन्य क्षेत्रीय पाटींसँग मूलभूत कुरामा कार्यगत एकता गरी अगाडि जान सकिने रणनीति अवलम्वन गर्न जरुरी छ’, उनले भनेकी छिन् ।

Published : Sunday, 2019 September 1, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया