भक्तपुरको उपनिर्वाचनमा कांग्रेसबाट यी नेताहरूको चर्चा, नेकपाको अहँकार तोड्ने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले प्रदेश सभातर्फ हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा कसरी बनाउन सकिन्छ भनेर आन्तरिक गृह शुरु गरेको छ ।

भक्तपुर जिल्लाको क्षेत्र नं. १ ‘क’मा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । प्रदेशको उपनिर्वाचनमा आधा दर्जनभन्दा धेरै नेपाली कांग्रेसका स्थानीय नेताहरूले आकंक्षा देखाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश हरिशरण लामिछानेको निधन भएपछि यो क्षेत्र रिक्त छ ।

यो क्षेत्रमा ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको बुइँ चढेर तत्कालीन एमालेले विजयी हासिल गरेको थियो । एमालेको तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछाने विजयी भएका थिए ।

नेपाली कांग्रेसले कसलाई टिकट दिने भनेर निर्णय गरिसकेको छैन । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले टिकटका विषयमा औपचारिक निर्णय वा तयारी केही नभएको बताए ।

‘टिकटका बारेमा औपचारिक विषयमा छलफल नभएपनि भक्तपुर कांग्रेस उपनिर्वाचनका लागि चुपचाप बसेको छैन’, उनले भने, ‘भक्तपुरको उपनिर्वाचन यस पटक नेपाली कांग्रेसको पक्षमा आउँछ । सोही अनुसारको तयारी गर्दै छौँ ।’

स्रोतका अनुसार क्षेत्र नं. १ ‘क’मा नेपाल तरुण दलका केन्द्रीय पूर्वअध्यक्ष विनोद कायस्थ, कृष्णलाल भँडेल, जीवन खत्री, जगन्नाथ कार्की, हरिप्रसाद नेपाल, यादव अधिकारी, सुरु बानियाँले टिकटका लागि दावी प्रस्तुत गर्दै आएका छन् ।

त्यति मात्रै होइन नेपाली कांग्रेस छाडेर गएका दुई जना ‘भगौडा’ले पनि पार्टीले टिकट दिएमा पुनः कांग्रेसमा फर्किने चर्चा भक्तपुरमा छ ।

प्रवीण बन र शंकर गौतमले पार्टीले टिकट दियो भने नेपाली कांग्रेसमा फर्किने भनेर बताउन थालेको भक्तपुर कांग्रेसका एक नेताले बताए । प्रवीण बन यो क्षेत्रमा लोकप्रिय नेता हुन् ।

कांग्रेसका जीवन खत्री प्रदेश सभा निर्वाचनमा एमालेका स्वर्गीय हरिशरण लामिछानेसँग पराजित उम्मेदवार हुन् । कांग्रेसका नेता कृष्णलाल भँडेल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई विगतका प्रतिनिधि सभा निर्वाचनमा आच्छुआच्छु बनाएका नेता हुन् ।

नेपाल तरुण दलका केन्द्रीय पूर्वअध्यक्ष विनोद कायस्थको आफ्नै खालको छवि छ । उनलाई भक्तपुरमा कांग्रेसका असहयोगी नेताका रुपमा धेरैले आलोचना गर्ने गर्छन् ।

यो क्षेत्रबाट नेकपाले कसलाई उम्मेदवार बनाउने भनेर स्पष्ट पार्न सकेको छैन । पूर्वएमालेले आफ्नै नेतालाई उम्मेदवार बनाउन खोजेको छ भने पूर्वमाओवादीले आफूले टिकट पाउनुपर्ने दाबी गर्न थालेका छन् ।

एमाले पृष्ठभूमि भएका भक्तपुरका नेकपाका केही नेताहरू राजनीतिमा संलग्न नभएकी स्व.हरिशरण लामिछानेकै पत्नीलाई टिकट दिनुपर्ने पक्षमा छन् ।

नेकपाबाट शम्भु दाहाल, दामोदर दंगाल (महेश बस्नेतका राइटह्याण्ड), डिपी ढकाल, रमेश बुढाथोकी, श्रीभक्त कासीछ्वाँ, मोहनवीर कर्मचार्यको नाम टिकट पाउने नेताको सूचीको चर्चामा छ । नेकपाबाट टिकट मोहनवीर कर्मचार्यलाई दिँदा सबैभन्दा न्याय हुने चर्चा पनि छ ।

डिपी ढकाल माओवादी पृष्ठभूमिका नेता हुन् । उनले नै टिकट छाडेपछि एमालेका हरिशरण लामिछानेलाई उम्मेदवार बनाएर जिताइएको थियो ।

टिकट पाउने चर्चामा नेकपाबाट एमाले पृष्ठभूमि भएका नेताहरूको मात्रै नाम चर्चामा छ । माओवादी पृष्ठभूमि भएका नेताहरू चुपचाप छन् ।

यो क्षेत्रमा पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को पकड आफ्नै खालको छ । राप्रपा (संयुक्त)का रविन्द्र प्रताप शाह र रामशरण लामिछानेले पनि उम्मेदवारी दिने चर्चा छ । त्यस्तै अवस्था रह्यो भने राप्रपा (संयुक्त)ले जित्ने सम्भावना पनि उत्तिकै छ ।

०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भएको चुनावी तालमेलअनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । सोही कारण उपनिर्वाचनमा नेपाली कांग्रेस र राप्रपा (संयुक्त) मिलेर निर्वाचनमा नेकपालाई हराउन एकजुट भएर जानुपर्ने चर्चा नेपाली कांग्रेसका नेताहरूले गर्न थालेका छन् ।

झण्डै दुईतिहाइको नजिक पुगेको नेकपाभित्र पलाएको दम्भ र घमण्डलाई चकनाचुर बनाउन भक्तपुरको उपनिर्वाचनमा नेपाली कांग्रेस र राप्रपा (संयुक्त) मिलेर जानुपर्ने दवाव छ ।

अन्यथा एक्लाएक्लै निर्वाचनमा जाँदा परिणाम जतापनि पल्टिन सक्छ । यो क्षेत्रमा नेमकिपा कमजोर मानिन्छ ।

Published : Sunday, 2019 September 1, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया