कम्युनिस्टले देश चलाउन सकेनन्, छौँडा र अरिँगाललाई लखेट्ने बेला आयोः दुर्लभ थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिस्टहरूले जहिले पनि मुलुकलाई अस्थिरतातर्फ लैजाने गरेको भन्दै कडा आलोचना गरेका छन् ।

भक्पुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ४ मा नेपाल तरुण दल वडा कार्यसमितिले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दुईतिहाइको कम्युनिस्टहरूले आफ्नै असक्षमताले सरकार चलाउन नसेको आरोप लगाए ।

‘यो मुलुकलाई जहिले पनि क्युनिस्टहरूले अस्थिरतातर्फ उन्मुख गराइरहेका छन्’, उनले भने, ‘अहिले दुईतिहाइको कम्युनिस्ट सरकार बन्दै गर्दा आफ्नो असक्षमताले सरकार चलाउन नसक्ने भएपछि व्यवस्थालाई दोष दिएर हामीले प्राप्त गरेको ०६२–६३ को आन्दोलन, नेपाली कांग्रेसले प्रदान गरेको संविधानलाई निमिट्यान्न पार्न कम्युनिस्ट सरकार लागिरहेको छ ।’

सभापति थापाले बिरामी प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिंगापुरमा बसेर भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठकबाट देश चलाउन खोजेको भन्दै आलोचना गरे ।

‘यो सरकार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्दै छ’, उनले भने, ‘हिजो बरु पञ्चायतकालमा राजाहरूले आफ्ना खालका अभिव्यक्ति दिँदै गर्दा अहिलेका प्रधानमन्त्री बरु देश मरेमरोस् म बाँची रहनुपर्छ भनेर सिंगापुरबाट देश चलाइरहनु भएको छ ।’

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छौं । शीघ्रस्वास्थ्य लाभको कामना गर्छौं ।’

‘उहाँकै नेतृत्वमा पाँच वर्ष यो सरकार चलोस् । सरकार चल्नुपर्छ । सरकार टिक्नुपर्छ र यो मुलुक समृद्ध बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको भनाइ छ’, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति थापाले भने, ‘तर प्रधानमन्त्री आफू अस्वस्थ्य भएर मुलुकलाई पनि अस्वस्थ्य बनाउन पाइँदैन ।’

‘हामी खबरदार गर्न चाहन्छौँ । मुलुकलाई एक–एक महिनासम्म प्रधानमन्त्री बिहीन बनाएर मुलुकलाई अस्थिरतातिर उन्मुख गराउनको लागि नेकपाको सरकार अगाडि नबढोस्’, उनले भनेका छन् ।

‘हुन त मैले पटक–पटक भन्ने गरेको छु । केपी ओली सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । तथापनि आफ्ना कार्यकर्तामार्फत । आफ्ना कार्यकर्तालाई कहिले अरिँगाल, कहिले छौडामार्फत नेपाली जनतालाई आक्रमण गर्न भनिरनु भएको छ’, थापाले भनेका छन् ।

‘नेपाली जनतामाथि आक्रमण गर्ने दुश्प्रयास कहिँ कतै छौँडा र अरिँगालहरूले गरे भने नेपाली कांग्रेस, तरुण दललगायत सम्पूर्ण भ्रातृ संस्थाले यी छौँडा र अरिँगाललाई यो मुलुकबाट खेद्ने छन्’, सभापति थापाले चेतावनी दिँदै भने, ‘यो मुलुकबाट सदासदाको लागि कम्युनिस्ट अधिनायकवाद समाप्त पार्न नेपाल तरुण दल लाग्नेछ ।’

नेपाली कांग्रेस भक्तपुरका सभापति थापाले धदिकोटको चित्रपुर कांग्रेसका लागि महत्वपूर्ण स्थान रहेको बताए । उनले चित्रपुरमा कांग्रेसलाई अपमान नगर्न सुझाव दिएका छन्।

उनले नेपाल तरुण दल भक्तपुर शाखा र ईकाइहरूले रक्तदानमार्फत सामाजिक अभियान शुरु गरेको भन्दै नेतृत्वको प्रशंसा गरेका छन् । ‘रक्तदान कार्यक्रम सानो हुन सक्छ’, सभापति थापाले भने, ‘यसको महत्व ठूलो रहेको छ ।’

Published : Saturday, 2019 August 31, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया