बद्मासी गरेपछि कांग्रेसले निर्वाचित आफ्नै वडा सदस्यको पद उडाइदियो

काठमाडौं । नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य पदमा उम्मेदवार भई निर्वाचित भएका वडा सदस्य लक्ष्मी मेहताको राजीनामा स्वीकृत गरेको छ ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मेहताले दिएको राजीनामा स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी असार १७ गते राजीनामा दिएको भन्दै विज्ञप्तिमा नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको भदौ २ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको जनाइएको छ ।

‘लक्ष्मी मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम, निज लक्ष्मी मेहता निर्वाचित भएको वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरिन्छ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसको यो निर्णयसँगै वडा सदस्य लक्ष्मी मेहताको पद फुत्किने भएको छ ।

यसबैची, केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति चित्त दुखाएका छन् । डा.कोइरालाले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको बताएका छन् ।

केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले डा.कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही आशयको अभिव्यक्ति दिएका थिए ।

केन्द्रीय सदस्य डा. कोइरालाले आफू र महामन्त्री डा. शशांक कोइराललाई लक्षित गरेर भएको टिप्पणीले दुःखी बनाएको बताए ।

निरंकुशताबिरुद्ध भएको हरेक आन्दोलनमा आफूहरु अग्रपंतीमा रहेको र पटक पटक प्रहरीको लाठी खाँदै जेल गएको डा.कोइरालाले बताए । उनले भने, ‘हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया मायाले होइन ।’

उनले केन्द्रीय समितिका हरेक सदस्य कुुनै न कुनै व्यवसायमा लाग्नुपर्ने र सबै तहका कार्यकर्तालाई आत्मनिर्भर र स्वावलम्बनको बाटोमा हिँडाउनुपर्ने समेत बताए । डा. कोइरालाले सरकारमाथि झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री स्वंयमले आर्थिक वृद्धि दर ७.५ प्रतिशत भनेर झुट बोलेको उनले बताए । ‘वास्तविक आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै छ’, डा.कोइरालाले भनेका छन् ।

उनले मूल्यवृद्धि आकासिएको, किसानका समस्या विकराल बन्दै गएको, भ्रष्टाचार संस्थागत हुन थालेको र जनताले सुशाशनको अनुभूति गर्न नपाएकोबताएका छन् । डा.कोइरालाले भनेका छन्, ‘हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं ।’

शुक्रबारकाे बैठकमा केन्द्रीय सदस्यहरू दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक भदाै १५ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

Published : Friday, 2019 August 30, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया