कास्की २ काे उपनिर्वाचन कांग्रेसले फुत्किन नदिने, चर्चामा यी नेताहरूको नाम

पोखरा । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको पोखरामा चर्चा शुरु भएको छ । नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कसलाई उम्मेदवार बनाउँछन् भनेर चर्चा हुन थालेको हो ।

सम्भावित उम्मेदवारको नाममा चियापसलदेखि चोकहरूमा चर्चा हुन थालेका छन् । स्थानीय तहमा अनौपचारिक रुपमा प्रचार प्रसार समेत शुरु हुन थालेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ ।

कास्की २ बाट नेपाली कांग्रेसका चर्चित नेता देवराज चालिसेले टिकट लिएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । रविन्द्र अधिकारीसँग ०७४ को प्रतिनिधि सभा निर्वाचनमा चालिसेले नै प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन माओवादीको मत पाएर रविन्द्र अधिकारीले ०७४ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए । सोही कारण त्यस बेला नेपाली कांग्रेसका चालिसे निर्वाचित हुनबाट चुकेका थिए ।

टिकटका लागि नेपाली कांग्रेसका अर्का नेता वीरेन्द्रनारायण बिजुक्छेको नाम पनि अग्रपंक्तिमा छ । बिजुक्छे कास्की २ मा नेपाली कांग्रेसका लोकप्रिय नेता मानिन्छन् ।

नेपाली कांग्रेसका नेता सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, गुरु बराल, ऋषि काफ्ले, धनराज गुरुङले पनि कास्की २ को उपनिर्वाचन ताकेर बसेका छन् ।

नेकपाबाट बामदेव गौतम र स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई अधिकारीको चर्चा छ । गौतमले कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने औपचारिक रुपमा केही भनेका छैनन् ।

विद्या भट्टराईले पार्टीले टिकट दियो भने उम्मेदवारी दिने बताउने गरेकी छिन् । तर, विद्या भट्टराईलाई राष्ट्रिय सभाको सांसद बनाएर बामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी भएको स्रोतले जनाएको छ ।

यो क्षेत्रबाट विद्या भट्टराईलाई टिकट दिएर उम्मेदवार बनाइयो भने नेपाली कांग्रेसलाई जित्न समस्या हुनेछ । विद्या भट्टराईलाई रविन्द्र अधिकारीको निधनको सहानुभूतिको मत पर्नेछ ।

तर, बामदेव गौतम उम्मेदवार बने भने नेपाली कांग्रेसले मुख मिठ्याएर बसेको छ । गौतमलाई बर्दियामा जस्तै कास्ती २ मा हराएर ह्याट्रिक गर्ने योजनामा नेपाली कांग्रेस बसेको छ ।

विद्या भट्टराई र बामदेव गौतमपछि सोमनाथ प्यासी, धनराज आचार्य, श्रीनाथ बराल, रश्मी आचार्यको नाम पनि नेकपाबाट टिकटका लागि चर्चामा छ ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा यस पटक दुईतिहाइको कम्युनिस्ट सरकारको अलोकप्रियतालाई भजाएर बाजी मार्ने पक्षमा देखिएको छ । कास्की २ को उपनिर्वाचनलाई नेपाली कांग्रेसले प्रतिष्ठानको विषय बनाएको छ ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । गत निर्वाचनमा कास्की क्षेत्र नम्बर २ को मतदाता संख्या ७० हजार ६ सय ५१ थियो । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसे तत्कालीन एमालेका रविन्द्र अधिकारीसँग ८ हजार ५ सय ४६ मतले पराजित भएका थिए ।

रविन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए । देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । कास्की क्षेत्र नं. २ मा ३२ मतदानस्थल छन् । ८२ मतदान केन्द्र रहेको छ ।

Published : Friday, 2019 August 30, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया