गाई मारिएको घटनाले मन्त्री राई स्तब्ध, छानविन गर्न गृहमन्त्रीलाई पत्र

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज काञ्जी हाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखका लागि लैजादै गरिएका केही गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालेर मारिएको समाचार सार्वजनिक भएपछि मन्त्री राईले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

मन्त्री राईले गाई मारिएको घटनाबारे यथार्थ छानविन गरी दोषी उपर कडा कारवाही गर्न शुक्रबार नै गृह मन्त्रालयलाई पत्राचार गरेका छन् ।

उनले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखेर सामूहिक रुपमा गौहत्या गरिएको भनि स्थानीय जनताबाट आएको अभिव्यक्ति र आक्रोश आएको बताएका छन् ।

सो घटनालाई अविलम्ब सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन तथा कारवाही गर्न ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामूहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारवाही गर्ने सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्न लागि सांसद विकास कोषबाट एक करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै मन्त्री राईले भने, ‘गाईको संरक्षणमा सरकार गम्भीर छ ।’

छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएकाले नेपालजञ्ज उपमहानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यान दिनुपर्नेमा ठूलो संख्यामा गाईलाई भीरबाट खसालेर मार्नुले गम्भीर आशंका पैदा गरेको मन्त्री राईले उल्लेख गरेका छन् ।

नेपालगगञ्ज उपमहानगरपालिकाको मेयर कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धवल शम्शेर राणाले जितेका छन् । राप्रपाको चुनाव चिन्ह ‘गाई’ नै छ ।

हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रपाले जितेको उपमहानगरपालिकाको कान्जी हाउसका गाईर्लाइ भीरबाट खसाएर हत्या गर्नुलाई धेरैले रहस्यका रुपमा हेरेका छन् ।

Published : Friday, 2019 August 30, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया