गगन थापाद्वारा प्रचण्डका ‘घरबेटी’को भण्डाफोर, शुरु भयो वारपारको लडाइँ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा सडक निर्माण र मर्मतमा ढिलाइ गरेपछि सडक विभागको कार्यालय अगाडि धर्ना दिएका छन् ।

शुक्रबार प्रदेश सांसद र काठमाण्डौ क्षेत्र नम्बर ४ का स्थानीय जनतासहित ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा नेपाली कांग्रेसका सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनले कुनै पनि काम नगरेपछि दवाव दिन थापाले धर्ना दिएका हुन् ।

शैलुङ कन्ट्रक्सनका ठेकेदार शारदा अधिकारीको कम्पनी हो । ठेकेदार अधिकारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

‘जुन निर्माण व्यवसायीका कारण काठमाडौं उपत्यकाभित्रका सबै सडकहरू अस्तव्यस्त छन् त्यही कन्ट्रक्सनलाई क्षेत्र नं. ४ को अधिकांश खानेपानीको आयोजना ठेक्का लिएको छ’, पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘त्रिपुरेश्वरदेखि नगरकोटसम्मको सडक वर्षौंदेखि अलपत्र पार्ने शैलुङ कन्ट्रक्सनले दुःख दिएको छ ।’

‘अबको धर्ना यहाँ हुँदैन । सिंहदरबारमा हुन्छ । मन्त्रीज्यूको कार्यकक्षमा हुन्छ’, उनले भने, ‘सडकमा गएर जनतालाई दुःख दिन चाहँदैनौँ । हाम्रो सन्देश मन्त्रीजीले सुन्नु हुन्छ । धर्ना दिन बाध्य भएका छौँ ।’ सांसद थापाले आन्दोलनभन्दा अर्को बिकल्प नभएपछि आन्दोलनमा आएको बताए ।

चाबहिल, कपनलगायतका स्थानका सडक लगायतका अन्य कतिपय सडक निर्माणको म्याद वैशाखमै सकिएको छ ।

सडकको काम २० प्रतिशतभन्दा कम मात्रै भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

नेपाली कांग्रेसका सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का भित्र सडकहरू निर्माणाधीन छन् । ती सबै सडकहरूको काम नगरेर शैलुङ कन्ट्रक्सनले वर्षौंदेखि लापरबाही गर्दै आएको छ ।

शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् ।

चाबहिल, जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ ।

Published : Friday, 2019 August 30, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया