नेकपाभित्र दाहालको खेलखण्ड, विरोधीहरूलाई तनाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली देशमा नरहेका बेला पार्टीभित्र आफू अनुकूलका निर्णय गराउन सक्रिय भएका छन् ।

दाहालले खुमलटारमा आफू निकटका नेताहरूको दैनिक सरह बैठक राख्न थालेका छन् ।

ओली समूहका नेताहरूलाई पनि दाहालले एक्लाएक्लै भेट्न थालेका छन् । त्यति मात्रै होइन दाहालले ओलीसँग रिसाएका माधवकुमार नेपाल जस्ता नेताहरूलाई आफू निकट ल्याउन प्रयास गरेका छन् । केही दिन अगाडि केन्द्रीय सचिवालयको बैठक राखेर दाहालले थोरै भएपनि राहतका सास फेरेका छन् ।

पूर्वमाओवादी कोटाबाट रामप्रसाद सापकोटालाई विभागीय सह–इञ्चार्ज बनाएपछि पूर्वमाओवादीभित्र असन्तुष्टि देखा परेको छ । जनवर्गीय संगठनका संयोजक र सह–संयोजक सिनियर नेतालाई बनाउने तर उनीहरूका विभागीय इन्चार्ज र सह–इन्चार्ज भने जुनियर नेतालाई बनाएपछि पूर्व माओवादीभित्र तीब्र असन्तुष्टि देखा परेको हो ।

महिला संघका संयोजक थापाभन्दा निकै जुनियर मानिएकी कमला रोक्कालाई माओवादी कोटाबाट प्रचण्डले सह–इन्चार्ज बनाईदिए, जसमा थापाको असन्तुष्टि प्रचण्डसामु प्रकट हुन पुग्यो ।

असन्तुष्टि थापामा मात्रै सीमित रहेन, प्रेस संगठनका संयोजक दाहालले पनि आफूभन्दा जुनियर ओम शर्मालाई आफनो विभागीय सह–इन्चार्ज बनाइदिए ।

२०५९ सालमा नै युद्धकालीन माओवादीको केन्द्रीय सदस्य भएका दाहालभन्दा माथि त्यो बेला क्षेत्रीय सदस्य रहेका शर्मालाई आफूभन्दा माथि लगेपछि दाहालले पनि असन्तुष्टि जनाए ।

जनजाति संयोजक सुरेश आले मगरभन्दा माथि लगेर कमानसिंह लामालाई संयोजक बनाउने कार्य दाहालले गरिदिए । त्यसमा पनि आलेले आपत्ति जनाएका थिए ।

जनसांस्कृतिक संघका संयोजक राई र मुस्लिमका सराज फारुखीको हकमा पनि सोही व्यवहार भएपछि उनीलाई पनि सह–संयोजक बनाईएको देखिएको छ ।

मुख्यतः पुर्व माओवादीनिकटभित्र पनि रामबहादुर थापा समूहका नेताहरूमाथि जुनियर नेतालाई इन्चार्ज र सह–इन्चार्ज बनाइदिएपछि थापालगायत सबैले दाहालसँग असन्तुष्टि राखेका थिए ।

दाहालले आफू निकटकालाई अगाडि ल्याउन राजनीति गरेपछि राजीनामाको चेतावनीसमेत दिएका छन् । दाहालले संयोजक र सह–संयोजकलाई नै विभागीय सह–इन्चार्ज बनाएका छन् ।

पूर्व एमालेका जनजाति सहसंयोजक शेरबहादुर तामाङ, ट्रेड युनियनका विनोद श्रेष्ठ, दलितका बोमबहादुर विश्वकर्मा पनि सह–इन्चार्ज हुन सफल भएका छन् ।

नेपाल किसान महासंघको संयोजकको जिम्मवारीमा समेत रहेका बामदेव गौतमले केन्द्रीय उपाध्यक्षमा सिफारिस भएपछि तथा संगठन विभाग प्रमुखको जिम्मेवारी पाएलगत्तै किसान महासंघको संयोजकको जिम्मेवारी परित्याग गरेका छन् ।

जनवर्गीय संगठन र विभागको जिम्मेवारी पाएर पनि एउटा पद परित्याग गर्ने गौतम नेकपामा एक्ला नेता हुन् ।

उनले जिम्मेवारी परित्याग गरेलगत्तै संयोजकको भूमिकामा पूर्व कृषिमन्त्री हरि पराजुली आएका छन् । प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपालको सह–संयोजकको जिम्मेवारी भने पराजुलीले अझै छाडेका छैनन् ।

नेकपाभित्र भाँडभैलो हुन थालेपछि वरिष्ठ नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेखेका छन् । आफैँले आफैँलाई निर्देशन दिन पाउनेसहित दोहोरो जिम्मेवारी दिएको भन्दै वरिष्ठ नेता नेपालले नोट अफ डिसेन्ट लेखेका छन् ।

नोट अफ डिसेन्टमा नेता नेपालले दोहोरो जिम्मेवारी पाएकालाई मुक्त गराउनु पर्ने तथा जिम्मेवारी नपाएकालाई जिम्मेवारी दिनुपर्ने लगायत ७ बुँदे धारणा सचिवालयमा दर्ता गराएका छन् ।

नेकपाभित्रको विवाद बाहिरबाट हेर्दा मिले जस्तो देखिएपनि मन मिल्न सकेको देखिएको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रका सिनियर नेताहरूलाई समस्या पर्ने गरेर जिम्मेवारीहरू बाँडफाँट भएपछि असन्तुष्टि बढेको हो ।

यति मात्रै होइन पूर्वमाओवादीभित्रको विवाद बढ्दै जाँदा प्रभु साहले प्रदेश दुईको ईञ्चार्जबाट राजीनामा दिएका थिए ।

वरिष्ठ नेता नेपालले ठूलो असहयोग गरेपछि काम गर्न नसक्ने भन्दै साहले दाहाललाई राजीनामा बुझाएका थिए ।

उनको राजीनामा स्वीकृत त भएको छैन । तर, साहलाई काम गर्न पूर्वएमालेबाट ठूलो असहयोग छ ।

Published : Friday, 2019 August 30, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया