मन्त्री क्वाटरमा गरिबी निवारणमन्त्रीको ‘हाइप्रोफाइल’ तीजको दर (भिडियो)

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले तीज पर्व आउनुभन्दा एक हप्ता अगाडि नै हाइप्रोफाइल भोजभतेर गरेर रमाइलो गरेकी छिन् ।

मन्त्री अर्यालले ललितपुरको पुल्चोकस्थित आफ्नै सरकारी क्वाटरमा बुधबार तीज पर्वका असरमा होइप्रोफाइल महिला नेतृहरूलाई बोलाएर दर खुवाकी हुन् ।

मन्त्री अर्यालले आफूलाई सरकारले बस्न दिएको क्वाटरभित्र ठूला र नाम चलेका महिला नेतृलाई मात्रै बालाएर दर खुवाएपछि आफ्नै पार्टीका नेतृहरूले आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका पूर्वमन्त्री, सांसद, महिला नेतृ, अधिकारकर्मी, सञ्चारकर्मीलगायत सीमित हाइप्रोफाइल महिलाहरूलाई मात्रै दर खान बोलाइएको स्रोतले जनाएको छ ।

तीजको दर खाना बोलाइएका पार्टी निकटका हाइप्रोफाइल महिला नेतृहरूलाई मीष्ठान्न भोजन खुवाइएको थियो । खानेकुरामा थरीथरीका परिकारहरू राखिएको थियो ।

दर खाने कार्यक्रममा मन्त्री अर्यालले एकजना बराबर करीव ६ सय रुपियाँ खर्च गरेको जनाइएको छ ।

पेटभरि दर खाएपछि मन्त्री अर्यालसहित नेकपाका नेतृहरू छमछमी नाचेका थिए । उनीहरू नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उता, केही दिन अगाडि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि सिंहदरबारभित्र भव्य रुपमा दर खाने कार्यक्रम मनाएका थिए । सिंहदरबारबाट शुरु भएको दर खाने कार्यक्रम पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगेको छ ।

विभिन्न जिल्लाहरूमा स्थानीय प्रशासनले तीजको अवसरमा पार्टी प्यालेसहरूमा दर खाने कार्यक्रम नगर्न निर्देशन दिएका छन् ।

तर, स्थानीय प्रशासनहरूको आदेशलाई खिल्ली उडाउने गरेर तीजको दर खाने कार्यक्रम सिंहदरबार र मन्त्री क्वाटरबाट शुरू भएपछि कम्युनिस्ट सरकारका मन्त्रीहरूको आलोचना भएको छ ।

उर्जामन्त्री पुनले तीज आउन सात दिन अगाडि नै मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारमा मंगलबार नाचगानसहित दर खुवाएका हुन् ।

त्यस दिन सिंहदरबारभित्र उर्जा मन्त्रालयमा सरकारी पोसाकमा आउने महिला कर्मचारी रातो साडीमा सजिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनद्वारा आयोजना गरिएको तीजको शुभकामना कार्यक्रमले मन्त्रालयको सभाहल खचाखच थियो ।

महिलाले गीत बजाउँदा मन्त्री पुनले देउमा बसेर ताली बजाएर महिलाहरूको नाचगान हेरेका थिए ।

जनयुद्धका बेला तीजमा दर खाएको भन्दै र तडकभडक गरेको भनेर गाउँका सर्वसाधारणलाई भाटे कारबाही गरेका पुनले नै सिंहदरबारभित्र त्यस बेलाको आफ्नै निर्णय पनि भुलेका छन् ।

पर्व आउनु एक महिनाअघिदेखि तीजलाई खर्चिलो र भड्किलो नबनाउन गृह मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्ति कार्यान्वयनमा आउन सकेको छैन ।

तीजमा ‘बढ्दो विकृति रोक्न’ भन्दै कतिपय जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम नगर्न सूचना नै जारी गरेको छ ।

तीजको लवाइखवाइ भड्किलो बन्न थालेको भन्दै केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गर्दै आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाे सिंहदरबारभित्रकाे दर

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना जारी गरेको थियो । कार्यान्वयन भने हुन सकेन ।

भूमि सुधारमन्त्री अर्याल र उर्जामन्त्री पुनले तीजको दर खुवाउन यति धेरै रकम कहाँबाट ल्याएर खर्च गरेका हुन् हिसाव किताव सार्वजनिक गरेका छैनन् ।

तीज नजिकिँदै गर्दा गरिब जनताले लाउन र खान समस्या भएका समाचार आइरहेका बेला शक्तिशाली कम्युनिस्ट सरकारका मन्त्रीहरूले सिंहदरबार र मन्त्री क्वाटरमै लाखौँ रकम खर्च गरेर हाइप्रोफाइलहरूलाई मात्रै बोलाएर दर खुवाएपछि पार्टीभित्रै आलोचना भएको छ ।

अर्याल र पुनले दर खाने कार्यक्रम सार्वजनिक ठाउँमा गरेर आफ्नै पार्टीका कार्यकर्ताहरूलाई खुवाएको भए यति धेरै आलोचना हुने थिएन ।

तर, उनीहरूले आफ्नो पदीय मर्यादा विपरित सिंहदरबार र मन्त्री क्वाटरभित्र दर खाने कार्यक्रम राखेपछि आलोचना भएको हो ।

Published : Thursday, 2019 August 29, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया