‘राप्ती काण्ड’ मच्चाउने नेकपाका कार्यकर्तालाई कारबाही गर्न कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अराजक गतिविधि गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक भुसालले नेकपाका कार्यकर्ताले प्रतिष्ठानका राजिष्टार रामप्रसाद प्याकुरेललाई लछारपछार र हातपात गरेको भन्दै कारबाहीको माग गरिन् ।

‘भदौ ११ गते विकिरण गौतमको नेतृत्वमा रामप्रसाद प्याकुरेललाई लछारपछार गरेर हातपात गरेका छन्’, सांसद भुसालले भनिन्, ‘प्रहरीमा किटानी जाहेर गएको छ । ती दोषीहरूलाई कानूनी कठघारामा ल्याउन त्यहाँको प्रहरीले गर्न सकेको छैन ।’

नेपाली कांग्रेसको तत्कालीन सरकारले उपकुलपति र रजिष्टार नियुक्ति गरेको भन्दै राजनीतिक पूर्वाग्रही भएर नेकपाको सरकारले बजेट समेत कटौती गरेको भन्दै भुसालले रोकिएको बजेट उपलब्ध गराउन माग गरिन् । उपकुलपति संगीता भण्डारीलाई नेकपाले दवाव दिँदै आएको भन्दै उनले विधिको शासन विपरितका कुनै पनि कार्य नगर्न चेतावनी दिइन् ।

‘तर्साएर संगीता भण्डारीलाई राजीनामा दिनका लागि बाध्य बनाउन खोजिएको छ’, उनले भनिन्, ‘नेकपाको हर्कतले विधिको शासनको खिल्ली उडेको छ ।अभद्र व्यवहार देखाउनेहरूलाई हदैसम्मको कारबाही गरिनुपर्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउने भन्दै नेकपा दाङका नेता विवेक श्रेष्ठले रजिष्टार रामप्रसाद प्याकुरेललाई कार्यकक्षबाट गलहत्याउँदै धकेलेका थिए । नेकपाका श्रेष्ठले प्याकुरेललाई गरेको हर्कतको सीसीटीभीको फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Thursday, 2019 August 29, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया